बालबालिकालाई राहत

राजकुमार कार्की

ग्वाल्टार, सिन्धुली — गोलन्जोर गाउँपालिका–३ ओख्लेकी ११ वर्षीया दिव्या परियार रित्तो झोला लिएर अभिभावकका साथ पालिका मुकाम ग्वाल्टार ओर्लिइन् । गैरसरकारी संस्थाको लक्षित समूहमा परेकी उनलाई राहत लिन भने हम्मेहम्मे पर्‍यो ।

बालबालिकालाई राहत

ठेलमठेल गरेर अभिभावकले राहतमा पाएको चामलका बोरा कसे । उनले किराना सामान झोलामा हालिन् । घरमा खाने सामल नभएकाले चिन्तित परिवारमा राहतले केही दिनको खुसी दिएको छ ।

बनिबुतो गरेर दैनिक गुजारा गर्दै आएको दिव्याको परिवारका बाबुआमाले तीन महिनादेखि काम पाएका थिएनन् । पहिला झोला र पाठ्यसामग्री दिनुभएको थियो, अहिले खानेकुरा पाएको भन्दै उनले खुसी प्रकट गरिन् । राहत प्याकेज लिन बालिका सुनिता मगरको पनि आमाछोरी नै ग्वाल्टार झरेका थिए । तर उनको नाम वडा नं २ को बितिजोरबाट राहत पाउने सूचीमा भएको थाहा पाएपछि निकैबेरको छिनाझम्टी पछि आमाछोरी नै ट्रयाक्टर चढेर उतै लागे । काम नपाएर खाने सामल जुटाउन नसकेको बेलामा छोरीको नाममा चामलसहितको राहत पाएपछि आमा आशा मायाले महिना दिनलाई अन्न जुटेको बताइन् । अब त खेतीमा बनिबुतो गरेर पनि खाइन्छ, नत्र हामीलाई अप्ठेरो थियो, उनले भनिन्, ‘कोरोनाले गर्दा कतै काम पाएको हैन, अन्नको गेडो थिएन । दुःखका बेला भण्डार भयो ।’

लक्षित समूहमा परेका नातिको राहत प्याकेज बुझ्न आएका मंगले आच्छामीलाई कुपन बनाउन नै पसिना छुट्यो । ‘पाउनेभन्दा बढी नपाउनेहरू ओइरिएपछि धकेलेर पछि पारिदिए,’ उनले भने, ‘गरिबलाई आएको राहतमा हुनेखानेहरू पनि र्‍याल काढ्छन्, घरभरि अन्न राखेर राहतमा पाएको गाईभैंसीलाई खुवाउन हुन्छ भनेर आएका छन् ।’

कोरोना महामारीका कारण लामो समयको निषेधाज्ञाबीच जोखिममा परेका बालबालिकालाई गैरसरकारी संस्थाले तीनगाउँ पालिकामा खाद्यान्न वितरण गरेका हुन् । तीन गाउँपालिकाका ६ सय ५२ कुपोषितसहित तीन हजार पाँच सय २५ बालबालिकालाई वर्ल्ड भिजन इन्टरनेसनलको सहयोगमा सिड्स नेपाल र रिलिफ नेपालले एक करोड बराबरको खाद्यान्न राहत प्याकेज गाउँमै लगेर वितरण गरेका थिए ।

प्रकाशित : असार २३, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?