खोलामा करेन्ट लगाएर माछा मार्नेलाई जरिवाना

टीकाप्रसाद भट्ट

रामेछाप — खिम्ती खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा स्थानीय प्रशासनले जनही ५ हजार जरिवाना गरेर छाडेको छ । 

मंगलबार खिम्ती खोलामा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा प्रहरीले मन्थली नगरपालिका ८ का शेरबहादुर माझी, मिलन माझी, प्रविण माझी, शमशेर माझी, सन्तबहादुर माझी, विष्णु माझी, सुनिल माझी, राजकुमार माझी र विपीन माझीलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाका अनुसार पक्राउ परेकाहरुको साथबाट माछा मार्न प्रयोग हुने ब्याट्री, विद्युतीय रड, जाल र साढे १२ केजी माछा नियन्त्रणमा लिइएको थियो ।

उनीहरुलाई मंगलबार नै जलचर संरक्षण ऐन २०१७ बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले उनीहरुलाई जनही ५ हजार जरिवाना गर्ने निर्णय सुनाएका थिए । उनीहरु सबैले जरिवाना तिरेर मंगलबार नै छुटेका छन् ।

रामेछापमा सुनकोसी, लिखु, खिम्ती र तामाकोशीमा ब्याट्रीबाट विद्युतीय रड प्रयोग गरी माछा मार्ने कार्य हुँदै आएको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा मारेको थियो ।

प्रकाशित : असार २२, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?