कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वाग्मती प्रदेशसभा सोमबार पनि स्थगित

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो एक बजेका लागि आहृवान गरिएको भएपनि करिब ५० मिनेट ढिलो गरी बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेसँगै स्थगित गरिएको हो ।

वाग्मती प्रदेशसभा सोमबार पनि स्थगित

बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका हुन् । बैठकको सुरुवातमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटप्रति असहमति प्रकट गरेका थिए ।

‘बजेटका विषयमा मुख्यमन्त्रीसँग समझदारी र निष्कर्षमा हामी नपुगेसम्म बैठक नराख्न आग्रह गर्दछौं’, नेता जम्मकट्टेलले भने । प्रतिपक्षी दलहरुको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । विपक्षीको अवरोधका कारण शनिबारदेखि प्रदेशसभाको बैठक लगातार प्रभावित भइरहेको छ । विपक्षी दलहरुले उठाएको विभिन्न विषयमा सरकारले सदनमा जवाफ दिने कार्यतालिका भएपनि बैठक सञ्चालनमा विपक्षीहरुले अवरोध सिर्जना गरेका हुन् ।

विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै बजेट ल्याइएको, योजनाहरु पक्षपाती ढंगले ल्याइएको, बजेटको न्यायोचित वितरण नभएको र प्रदेश सरकारले आफै आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गरेर मोर्चाबन्दी गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाले बजेटलाई लक्ष्यहीन, असन्तुलित र अमूर्त भन्दै टिप्पणी गरिरहेका छन् ।

प्रकाशित : असार २१, २०७८ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?