कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

वाग्मती प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार बन्दै

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेशले प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिरहेको छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छ ।

वाग्मती प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार बन्दै

मन्त्रालयका अनुसार अधिकांश शीतभण्डार निर्माणको अन्तिम चरणमा छन् । यसका लागि मन्त्रालय र साझेदार संस्थाहरूसमेतको गरी ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लगानी भएको छ । किसानद्वारा उत्पादित तरकारी र फलफूललाई धेरै दिनसम्म ताजै राख्न शीतभण्डार निर्माण भइरहेको हो ।

प्रदेश सरकारले बजेटमा घोषणा गरेको ‘एक जिल्ला, एक शीतभण्डार’ कार्यक्रमअन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा पनि शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको ७० प्रतिशत र सहकारीको ३० प्रतिशतको लगानीमा निर्माण भइरहेको कोल्ड स्टोर चालु आर्थिक वर्षबाट सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । नगरपालिकाको समन्वयमा थाहा–३ मा १० रोपनी क्षेत्रफलमा निर्माणाधीन शीतभण्डारको सञ्चालन सहकारीले गर्ने नगरप्रमुख लवशेर विष्टले बताए ।

११ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी २०७६ कात्तिक ९ बाट केन्द्रको निर्माण थालिएको थियो । १ हजार ७ सय मेट्रिक टन क्षमताको उक्त शीतभण्डार निर्माणका लागि प्रदेश सरकारले ८ करोड ३ लाख र उत्तरी क्षेत्रका २७ वटा सहकारीले ३ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् । उक्त कोल्डस्टोरबाट तरकारीको पकेट क्षेत्रका रूपमा रहेको थाहा, इन्द्रसरोवर र कैलाश गाउँपालिकाका कृषकहरू लाभान्वित हुनेछन् ।

शीतभण्डार निर्माण भएपछि उत्तरी क्षेत्रका किसानले बढी मूल्य तिरेर अन्यत्र भण्डारण गर्नुपर्ने समस्याको अन्त्य हुने र कृषकको ठूलो रकमसमेत बचत हुने विष्टको भनाइ छ । जिल्लामा तरकारी उत्पादनमा अग्रणी थाहा नगरपालिकामा योसँगै सानाठूला ४ वटा शीतभण्डार हुने भएका छन् । थाहा–६ मा साना किसान कृषि सहकारी संस्थाले ३ वर्षअघिबाट शीतभण्डार सञ्चालन गर्दै आएको छ ।

नेपाल सरकारको २० लाख र सहकारीको करिब ६० लाख रुपैयाँ लागतमा शीतभण्डार सञ्चालनमा ल्याइएको हो । ५५ टन क्षमताको उक्त शीतभण्डारमा मुख्य गरी आलु राख्ने गरिएको छ । थाहा–२ मा निजी क्षेत्रको मैना कृषि सेवा प्रालिले पनि शीतभण्डार सञ्चालन गरेको छ ।

प्रकाशित : असार २१, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?