कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले जताततै सडक क्षतविक्षत

प्रदेश ब्युरो

हेटौंडा — लगातारको वर्षापछिको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग र ग्रामीण सडकमा धेरै क्षति पुगेको छ । कतै सडक नै बगाएको छ भने कतै पहिरो खसेर यातायात अवरुद्ध भएको छ । खसेको पहिरो पन्छाएपछि केही सडक खण्डमा आवागमन पुनः सुरु भए पनि केही सडक भने पछिल्लो तीन दिनदेखि ठप्प छन् ।

बाढीपहिरोले जताततै सडक क्षतविक्षत

मकवानपुर र चितवनका पहाडी भेगमा पर्ने चेपाङ बस्तीहरूसम्म पुग्ने मोटरबाटो क्षतविक्षत भएको छ । मकवानपुरको उत्तरपश्चिममा पर्ने राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुर जाने सडक अवरुद्ध छ । मनहरीदेखिको सडक ठाउँठाउँमा पहिराले बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । मनहरीबाट चैनपुर ७ किलोमिटरको दूरीमा पर्छ । मकवानपुरकै अर्को दुर्गम कैलाश गाउँपालिकाको केन्द्र कटुञ्जे पुग्ने मोटरबाटो पनि ठाउँठाउँमा गएको पहिरोले ठप्प छ । कटुञ्जे त्रिभुवन राजपथको चुनियाबाट २२ किमि दूरीमा पर्छ । यो सडकमा विगत ३ दिनदेखि यातायात सेवा अवरुद्ध रहेको गाउँपालिकाका अध्यक्ष टंकबहादुर मोक्तानले बताए । ‘चुनियाबाट प्रवेश गर्ने बितिक्कै ठूलो पहिरो खसेको छ, जसले सडक नै ताछेर लगेको छ,’ उनले भने, ‘नामटार नजिक सडक बगाएको छ भने घुमाउनेमा पनि क्षतविक्षत छ ।’ उनका अनुसार प्रदेश सरकारको लगानीमा उक्त सडकको स्तरोन्नति भइरहेको थियो ।

यसैगरी, पूर्व–पश्चिम राजमार्गदेखि पूर्वी चितवनको उत्तरी क्षेत्रका पहाडी गाउँ र धादिङ जोड्ने भण्डारा–मलेखु चेपाङ मार्ग पनि पहिरोले क्षतिग्रस्त छ । यसको लम्बाइ ६८ किमि छ । बिहीबारको वर्षासँगैको पहिरोले सडकको चितवनतर्फको अधिकांश भागमा क्षति पुर्‍याएको राप्ती–१३ का वडाध्यक्ष सूर्यबहादुर चेपाङले बताए । ‘पाइला पाइलामा पहिरो गएर सडक बिग्रिएको छ । केही ठाउँमा सम्हाल्नै नसकिने गरेर बाटो भत्केको छ,’ उनले भने । यो मार्गले कोराक र लोथरका साथै राक्सिराङ क्षेत्रमा पनि सहज रूपमा यातायात सुविधा पुगेको थियो । अहिले ट्र्याक खोल्ने काम सकिनुका साथै भण्डारातर्फ ५ किमि र मलेखुतर्फ ८ किमि सडक कालोपत्रे पनि भएको छ । ‘बजेट वार्षिक रूपमा आउने गर्छ तर धेरै आउँदैन । यो वर्ष ५ करोड रुपैयाँ आएको थियो । त्यसैले सकेको काम गर्दै आएका थियौं । अर्को वर्ष २० करोड रुपैयाँ आउँदै थियो,’ डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर विजय दराईले भने । पहिरोका कारण कालोपत्र भएको स्थानभन्दा केही पर आँपपानीसम्म जनतन गाडी जान सक्छन् । त्यसपछि गाडी वारपार गर्नै नसक्ने गरेर बाटो बिग्रेको वडाध्यक्ष चेपाङले बताए ।

उक्त सडकमा पहिरो व्यापक छ भन्ने जानकारी कार्यालयमा आएको तर तत्काल केही काम गर्न सक्ने अवस्था नरहेको इन्जिनियर दराईको भनाइ छ । ‘पहाडी गाउँ जान सकस छ । तर अहिले सबै औजार, उपकरणहरू नारायणगढ–मुग्लिङ सडक र पृथ्वी राजमार्गको पहिरो हटाउन परिचालित छन् । तत्काल त्यता डोजर, लोडर पठाउन सक्ने अवस्था पनि छैन,’ उनले भने ।

बनेको एक महिनामै सडक क्षतिग्रस्त

लगातारको वर्षापछिको बाढीका कारण बनेको एक महिनामै कालोपत्र सडक क्षतिग्रस्त भएको छ । दुधौली–लखिमा–अरुण ठाकुर जोड्ने १८ किलोमिटर सडकमध्ये ३ किमि खण्डमा क्षति पुगेको हो । डहरे, कामीटार र वामदहमा यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी कालोपत्रे सडक बाढीले ध्वस्त बनाएको हो । ‘सडक कालोपत्रसँगै दुधौलीबाट तीन घण्टाको कष्टप्रद यात्रा छोटिएर आधा घण्टामा झरेको थियो । अब त सडक कहिले बन्ने हो अनिश्चित भएको छ,’ स्थानीय शरद बुढाथोकीले भने । सडक निर्माण कम्पनी ईसीआई–कन्काई कन्स्ट्रक्सनका क्षेत्र बम्जनले भिरोलो क्षेत्रको सडक बाढी आउँदा खोल्सामा राखेको कलभर्ट टालिएर क्षतविक्षत भएको बताए ।

चार राजमार्गका १० ठाउँमा पहिरो

अविरल वर्षाका कारण शुक्रबार राति हेटौंडा–काठमाडौं जोड्ने चार राजमार्गका विभिन्न १० स्थानमा पहिरो खसेको छ । मकवानपुर प्रहरीका अनुसार त्रिभुवन राजपथ, कुलेखानी–सिस्नेरी–काठमाडौं सडक, कुलेखानी–फाखेल–काठमाडौं छोटो मार्ग र कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको थियो । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–१ बाघझोरा, भैंसे–पालुङ–नौबिसे सडक खण्डमा पर्ने भीमफेदी–९ अघोर, थाहा–६ खानीगाउँ र थाहा–१२ गैरीगाउँमा पहिरो खसेको थियो ।

शनिबार साँझसम्म यी सबै स्थानको पहिरो हटाएर एकतर्फी आवागमन गराइएको जिल्ला प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए । कुलेखानी–सिस्नेरी–काठमाडौं छोटो मार्गको भीमफेदी–२ पान्द्राङ, भीमफेदी–६ देउराली, कुलेखानी–फाखेल–काठमाडौं सडकअन्तर्गत इन्द्रसरोवर–४ महालक्ष्मीखोला, इन्द्रसरोवर–२ कुलेखानीमा पनि पहिरो जाँदा सडक आवागमन अवरुद्ध छ । ‘यो सडकको स्तरोन्नतिको काम भइरहेका कारण पनि धेरै स्थानमा पहिरो खसेको हो,’ दासले भने । कान्ति लोकपथअन्तर्गत भीमफेदी–८ गंगटेमा पहिरोले कालोपत्र बगाउँदा राजमार्ग नै पूर्णरूपमा बन्द भएको छ ।

प्रकाशित : असार २०, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?