सडकमा लेदो बग्दा बीपी राजमार्ग अवरुद्ध- वाग्मती - कान्तिपुर समाचार

सडकमा लेदो बग्दा बीपी राजमार्ग अवरुद्ध

नगेन्द्र अधिकारी

काभ्रे — निरन्तरको वर्षापछि खोलाको सतह बढ्दा बीपी राजमार्गको माम्तीखण्ड अवरुद्ध भएको छ । राजमार्ग हुँदै पूर्वतर्फ लागेका र काठमाडौं आउँदै गरेका सवारीसधान राजमार्गमा नै अड्किएका छन् ।  

तस्बिर सौजन्य : डीबी लामा

वर्षापछि रोशी–१२, माम्ती खोला नजिक बगेको लेदोमा ३ सवारी साधन फसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका डीएसपी हरि खतिवडाले जानकारी दिए । ती सवारीसाधनमा रहेका यात्रु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

रोशी गाउँपालिका अध्यक्ष दलबहादुर (डीबी) लामाले अवरोध हटाउन सुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण तत्काल सम्भव नभएको उनले बताए । नमोबुद्ध–५, लास्कोटमा रहेको क्रसर उद्योगबाट आएको लेदोले पनि राजमार्गमा अवरोध गरे पनि खुलाइएको छ ।

त्यस्तै धुलिखेल–११, फस्कोटमा घर पछाडिको पर्खाल खसेर ३ घर जोखिममा परेपछि धुलिखेलस्थित कालिजंग गणका सेना र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको डीएसपी खतिवडाले जानकारी दिए ।

प्रकाशित : असार १९, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्

रोशी खोला थुनिने जोखिम

खानी र क्रसर उद्योगका कारण खोला थुनिएर मेलम्चीको नियति दोहोरिने भन्दै स्थानीय चिन्तित
नगेन्द्र अधिकारी

काभ्रे — झन्डै ३ सय मिटर क्षेत्र १ मिटरभन्दा बढी भासिएको छ । बिजुलीका तार लत्रिएर मकैका बोट छोएर बसेका छन् । पनौती नगरपालिका–२ कुशादेवीको घैयाबारीमा सञ्चालित ढुंगाखानीमा डोजर, एक्स्काभेटरले निरन्तर डाँडो कोपर्दा उक्त जमिन भासिएको हो ।

ढुंगाखानीका कारण काभ्रेको पनौती–२ कुशादेवीस्थित घैयाबारीमा भासिएको जमिन । तस्बिर : नगेन्द्र/कान्तिपुर

पनौती–२ र १२ को सिमानामा सञ्चालित ८ वटा ढुंगाखानी तथा क्रसर उद्योगले थुपारेको डस्ट (धूलो) का कारण रोशी खोलासमेत साँघुरिएको छ । जसका कारण पहिरो खसेर कुनै पनि बेला खोला थुनिन सक्ने भन्दै स्थानीय त्रसित छन्

‘खानी र क्रसर उद्योगभन्दा ५ सय मिटरमाथिको जमिन करिब २ मिटर भासिएको छ, एकैपटक पहिरो खस्यो भने यसले मेलम्चीको बाढी र जुरे पहिरोको जस्तै रूप लिन सक्छ,’ पनौती–१२ का सदस्य प्रह्लाद केसीले भने, ‘खोला थुनिएको खण्डमा रोशी खोला किनारका बस्ती तथा खेतमा ठूलो असर गर्न सक्छ भन्ने हाम्रो चिन्ता हो ।’ सोमबार मात्रै ढुंगाखानीमाथि गएको पहिरोको कारण पनौती–१२ खारखोलामा एउटा घर भत्किएको छ भने अन्य केही घर जोखिममा छन् । साविक कुशादेवी गाविसतर्फका २ घर पनि तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन् ।

पनौती–२ कैराभन्ज्याङका राजन आचार्यले रोशी खोलाको तल्लो तटीय क्षेत्रमा ‘नसोचेको जोखिम’ निम्तिन सक्ने भन्दै चिन्ता जनाए । ‘यो ख्याल–ख्याल गर्ने विषय छैन, बेलैमा सावधानी नअपनाउने हो भने यसले नसोचेको जोखिम ल्याउँछ,’ उनले भने, ‘खोला साँघुरो भइसक्यो, पहिरो गएर फेरि खोला थुनिने जोखिम छ, त्यसले तल्लो क्षेत्रका भूभागमा ठूलो असर गर्छ ।’ खानी तथा क्रसर उद्योगले मापदण्डको पालना नगर्दा वर्षायाममा पहिरो र बाढीको जोखिम तथा हिउँदमा धूलोको सास्ती खेप्नुपरेको उनले गुनासो गरे ।

साविक कुशादेवी र भूमिडाँडा गाविसको सिमानामा पर्ने उक्त क्षेत्रमा कोहिनुर, काठमाडौं, भालेश्वर, रोशीखोला, पनौती, कार्की, रुसीखोला रोडा ढुंगा र डाइमन्ड स्टोन प्रालि गरी ८ वटा ढुंगाखानी तथा क्रसर उद्योग सञ्चालनमा छन् । पनौती–१२ का अध्यक्ष ईश्वर जंगमले यस क्षेत्रमा कुनै पनि बेला जोखिम हुन सक्ने भन्दै समयमा नै सचेत हुन सबै पक्षलाई आग्रह गरे ।

स्थलगत अनुगमनका लागि पुगेका जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जमिन भासिएको र रोशी खोलासम्म पुग्न सक्ने भएकोले खोला थुनिन सक्ने बताए । त्यसका लागि पूर्वतयारी आवश्यक रहेको भन्दै उनले जोखिममा रहेका २ घर तत्काल स्थानान्तरण गर्न निर्देशन दिएको बताए । दोस्रो पटक अनुगमनमा पुगेका पनौती नगर प्रमुख भीम न्यौपानेले भने १ मिटर भासिएको जमिन समथर भएकाले ठूलो जोखिम नल्याउने दाबी गरे । ‘माथि ठूलो बस्ती छैन, जोखिम रहेका सुरक्षित स्थानमा सरिसक्नुभएको छ,’ उनले भने, ‘तत्काल नभए पनि सम्भावित जोखिमप्रति सचेत छौं, सावधानी अपनाउन र पूर्वतयारी गर्न भनेका छौं ।’

पनौती–२ का अध्यक्ष पुरुषोत्तम अधिकारीले भूगर्भविद्सहितको टोलीले प्राविधिक अध्ययन गर्नुपर्नेमा जोड दिए । खानी तथा क्रसर सञ्चालकहरू भने कुनै जोखिम नरहेको दाबी गर्छन् । ‘१५ वर्षको हाम्रो अनुभवले के भन्छ भने खानीमा पहिरो एकैपटक खस्दैन, त्यसो नहोला भन्न त सकिँदैन, भइहाले ६ वटा मेसिन तयारी अवस्थामा राखेका छौं,’ कोहिनुर रोडा ढुंगा उद्योग प्रालिका सञ्चालक कुमार भण्डारीले भने, ‘डस्ट पनि हाम्रै जग्गामा व्यवस्थापन गरेका छौं, उद्योगको कारण खोला थुनिएको र साँघुरिएको भन्ने कुरा गलत हो ।’ भालेश्वर रोडा ढुंगा उद्योगका सञ्चालक बालचन्द्र आचार्यले मेलम्ची र पनौतीको माटोको प्रकृति फरक भएकाले तुलना गर्न नमिल्ने तर्क गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि सबैको ध्यान जान जरुरी भएको बताए ।

खानी तथा क्रसर उद्योगभन्दा माथि रहेका घर तथा जग्गा उद्योग सञ्चालकले आफूखूसी मूल्यमा खरिद गरेकाले खानी आसपासका बस्ती खाली हुने क्रममा छन् । साबिक कुशादेवी गाविसको घैयाबारी, कैराभन्ज्याङ, भूमिडाँडा गाविसको खारखोलालगायत स्थानका बासिन्दा थोरै मूल्यमा जग्गा बिक्री गरेर अन्यन्त्र सरिसकेका छन् । पनौती–२ आचार्य गाउँका श्याम आचार्यले खानीका कारण विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै व्यवसायीले आफूखुसी मूल्य दिएकाले बिक्री नगरेको बताए । ‘बाटोघाटो सबै नासिए, जोखिम पनि उत्तिकै छ,’ आचार्यले भने, ‘रोपनीको ३ लाखमा दिने भए दे, नत्र किन्दैनौं भनेर वास्ता गरेका छैनन्, अरू ठाउँमा गएर जग्गा किन्न पनि नपुग्ने पैसामा कसरी बिक्री गर्नु ?’ कैराभन्ज्याङका राजन आचार्यले सरकारले खानी क्षेत्र तोकेर त्यस आसपासका स्थानीयको उचित व्यवस्थापन गर्नुपर्ने माग गरे ।

खेती र जलविद्युत्‌मा समेत मार

वर्षायाममा भेलका कारण धमिलो भए पनि खोलाहरू हिउँदमा संग्लो हुनुपर्ने हो । तर खानी तथा क्रसर उद्योगले धूलो खोलामा थुपार्दा रोशी खोला सधैं धमिलो बग्ने गरेको छ । उद्गमस्थलदेखि नै रोशी करिडोरमा रहेका खानी तथा क्रसर उद्योगको मनपरीका कारण रोशी खोला संग्लो हुन पाएको छैन ।

मापदण्डविपरीत खोलाको आडमा सञ्चालित खानी, क्रसर तथा बालुवा धुने उद्योगका कारण किसान प्रत्यक्ष मारमा छन् । ‘पानीको सतह पनि घट्यो, सिँचाइ गरेको पानी पनि प्रदूषित छ,’ रोशी क्षेत्रका एक किसानले भने, ‘सोही पानी खेतमा लगाउँदा माटो थुप्रिएर उब्जनी नै राम्रो नहुने रहेछ ।’ जिल्लामा रहेका ३२ क्रसर उद्योगमध्ये २२ वटा रोशी खोला आसपास छन् । ढुंगा खानी पनि सोही क्षेत्रमा बढी छन् । उद्योगको मनपरीका कारण कटुञ्जे, माम्ती, चारसय, गिम्दीलगायतका बेंसीमा खेती गर्दै आएका किसान प्रभावित भएका हुन् । खोपासीस्थित पनौती जलविद्युत् केन्द्रको उत्पादनमा पनि असर गरेको छ ।

साढे ३ किलोमिटर लामो कुलोमा माटो थुप्रिँदा पर्याप्त मात्रामा पानी ल्याउन नसकेको र पहिला ५–७ वर्षमा एक पटक सफा गर्दा हुने कुलो अहिले प्रत्येक वर्ष सफा गर्नुपर्दा झन्झट र लागत दुवै बढेको केन्द्रले जनाएको छ । साबिक कलाँतीभूमिडाँडा र चलाल गणेशस्थान गाविसमा रहेका खानी तथा क्रसर उद्योगले फाल्ने धूलोका कारण खोला प्रदूषित हुँदै आएको छ ।

प्रकाशित : असार १६, २०७८ १२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×