२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कुलेखानीमा पानीको सतह १० मिटर बढ्यो

प्रताप विष्ट

हेटौंडा — जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा तीन दिनमा करिब १० मिटर पानीको सतह बढेको छ । जलाधार क्षेत्रमा असार १५ देखि १८ गतेसम्म भारी वर्षा भएकाले पानी सतह ह्वात्तै वृद्धि भएको हो ।

गत वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएको थिएन । ‘यो वर्ष असार मध्यमै वर्षा धेरै भएकाले जलाशय चाँडै भरिन सक्छ,’ कुलेखानी प्रथमका प्रमुख धीरेन्द्र चौधरीले भने, ‘दुई वर्षदेखि कुलेखानी भरिएको थिएन, यो वर्ष भरिन्छ ।’

नेपाल विद्युत् प्राधिकरण ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशयमा शुक्रबार दिउँसो तीन बजेसम्म १ हजार ५ सय ११.११ सेन्टिमिटर पानी संकलन भएको छ । यो वर्ष वर्षायाम सुरु हुनुअघि जलाशयमा १ हजार ५ सय २ मिटर पानीको सतह थियो । असार १५ मा जलाशयमा १ हजार ५ सय २.३३ सेन्टिमिटर पानी थियो । १५ देखि १८ गतेसम्म जलाधार क्षेत्रमा लगातार वर्षा भएकाले तीन दिनमै जलाशयमा करिब १० मिटर पानीको सतह बढेको हो । ‘यी तीन दिनमा दैनिक ३ मिटरभन्दा बढी पानीको सतह बढ्यो,’ आयोजना प्रमुख चौधरीले भने । जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म प्रयोग गर्न सकिन्छ । गत वर्षको यही अवधिमा १ हजार ५ सय ३ मिटर मात्र पानीको सतह थियो ।

इन्द्रसरोवर गाउँपालिकामा पर्ने जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर पानी संकलन गर्ने छ । ‘कुलेखानी भरिन करिब २० मिटर मात्र बाँकी छ,’ कुलेखानी प्रथमका एक प्राविधिकले भने, ‘जलाधार क्षेत्रमा एक/दुई घण्टा भारी वर्षा भयो भने एक दिनमा दुई/तीन मिटर नै पानीको सतह बढ्छ ।’ जलाशयको पानीको खपत अहिले छैन । वर्षायाम भएका कारण कुलेखानी पिक समयमा पनि सञ्चालन गर्नुपरेको छैन ।

कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोवाट १४ गरी १ सय ६ मेगावाट बिजुली उत्पादन हुने गरेको छ ।

प्रकाशित : असार १८, २०७८ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?