कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘सिन्धुपाल्चोकको विपद्लाई सरकारले बेवास्ता गर्‍यो’

काठमाडौँ — वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोकमा गएको बाढीपहिरोलाई बेवास्ता गरेको आरोप सांसदहरुले लगाएका छन् ।

‘सिन्धुपाल्चोकको विपद्लाई सरकारले बेवास्ता गर्‍यो’

प्रदेशसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले संघीय र प्रदेशले सिन्धुपाल्चोक विपद् पीडितप्रति बेवास्ता गरेको भन्दै आक्रोश पोखेका हुन् । उनीहरुले प्रदेश सरकारले सिन्धुपाल्चोकमा राहत र पुनर्निर्माणको काम थाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेशसभामा सिन्धुपाल्चोकका सांसद निमा लामाले राजधानीको तिर्खा मेटाउने मेलम्ची र पाँचपोखरीमा अर्को पार्टीको स्थानीय सरकार भएकै कारण बेवास्ता गरिएको आरोप लगाए । उनले प्रदेश सरकारले अहिलेसम्म सिन्धुपाल्चोक विपद् पीडितका लागि कुनै योजना नल्याएको भन्दै आपत्ति जनाए । ‘सरकारले यसरी पक्षपाती काम गर्नुहुँदैन’, उनले भने । सांसद लामालाई बेपत्ताको खोजी र घाइतेको उपचार गर्न, सम्पूर्ण सम्पत्ति बगाएकाहरूको बारेमा ठोस योजना ल्याउन, सडक र पुल बगाएकाले तत्काल व्यवस्था गर्नुपर्ने उनले बताए ।

सांसद रमेश पौड्यालले सरकार सिन्धुपाल्चोक विपद्प्रति प्रदेश सरकार गैरजिम्मेवार बनेको आरोप लगाए । उनले सरकारले विपद् न्यूनिकरणका लागि पूर्वतयारीको काम गर्न चुक्दा पटकपटक सिन्धुपाल्चोकबासी विपद्को पीडा झेल्न बाध्य भएको बताए । प्रदेश सरकारलाई तत्काल स्थानीय सरकार र संघसंस्थासंग सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

सांसद युवराज दुलालले सिन्धुपाल्चोकमा भएको जनधनको क्षतिमा प्रदेश सरकारले ठोस काम थाल्नुपर्नेमा बताए । उनले अर्बौं रकम लिएर प्रदेश सरकारले सिन्धुपाल्चोकका लागि केही नगरेकोप्रति उनको आक्रोश पोखे । उनले सिन्धुपाल्चोकको विपद् क्षेत्र वाग्मती प्रदेशमै छ भन्ने प्रश्न गर्दै सरकारले नालायकीपन देखाएको बताए ।

सांसद राजेन्द्र पाण्डेले सिन्धुपाल्चोकमा विपद्बाट समस्यामा परेकाहरुलाई राहतको काम गर्नुपर्ने, यातायात सुरु हुने व्यवस्था गर्नुपर्ने र खोला व्यवस्थापन गरी बाँकी रहेको बस्ती र खेतबारी संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सांसद दिपेन्द्र श्रेष्ठले सिन्धुपाल्चोकमा प्रदेशका मन्त्री हेलिकप्टरमा पुगे पनि अझै राहत नपुगेको भन्दै आपत्ति जनाएका थिए । प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मन्त्रीहरू हेलिकप्टरमा सिन्धुपाल्चोक जाने तर राहत नपुग्ने अवस्थाको अन्त्य हुनुपर्नु बताएका हुन् । उनले जनतालाई विकास नदिए पनि राहत यथाशीघ्र उपलब्ध गराउन माग गरे ।

सांसद सुरेन्द्रराज गोसाईंले वाग्मती प्रदेश सरकार हेटौंडामा नभइ सिन्धुपाल्चोकमा पुगोस् भन्दै कटाक्ष गरे । विपदको हेलिकप्टरबाट अवलोकन गरी सरकारले प्रतिवेदन मात्रै तयार गर्ने भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । बैठकमा प्रदिपकुमार कटुवाल क्षेत्रीले सिन्धुपाल्चोक र सिन्धुलीमा भएका विपदमा सरकारले ध्यान दिनुपर्नेमा जोडदिए । सांसद घनश्याम दाहाल, विशाल खड्का, राजकाजी महर्जन, रिना गुरूङ, रमा आले मगर लगायतले धारणा राखेका थिए ।

बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल समितिले सिन्धुपाल्चोकमा गरेको अवलोकनको प्रतिवेदन संसदमा पेश गरेका थिए ।

प्रकाशित : असार १८, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?