कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्थानीय तहको बजेट स्वास्थ्य र कृषि लक्षित

केहीले कोरोना रोकथाम, विपद् व्यवस्थापन, शिक्षा र विकास निर्माणमा धेरै रकम छुट्याएका छन्
प्रदेश ब्युरो

हेटौंडा — वाग्मती प्रदेशका विभिन्न जिल्लाका अधिकांश स्थानीय तहले स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिएर आगामी आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । केही स्थानीय तहले कोरोना नियन्त्रण, रोकथाम र उपचारलाई समेत प्राथमिकतामा राखेर रकम छुट्याएका छन् ।

स्थानीय तहको बजेट स्वास्थ्य र कृषि लक्षित

मकवानपुरको बकैया गाउँपालिकाले १५ शय्याको अस्पताल बनाउन बजेट विनियोजन गरेको छ । गाउँपालिकाभित्र प्राविधिक शिक्षा निःशुल्क गर्ने जनाउँदै ६२ करोड ६३ लाख रुपैयाँ छुट्याइएको छ । जिल्लाकै मनहरी गाउँपालिकाले पनि १५ शय्याको अस्पताल बनाउने भएको छ । गाउँपालिकाका सबै घरलाई खरको छानामुक्त बनाउन जस्तापाता उपलब्ध गराउने नीति तथा कार्यक्रम पारित गरेको छ ।

यसैगरी, थाहा नगरपालिकाले ९५ करोड ६४ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरसभाले कम्तीमा ७ लाखभन्दा माथिका योजना मात्रै सञ्चालन गर्ने नीति लिएको छ । ‘कुनै स–साना योजना सञ्चालन तथा मर्मत सम्भार गर्नुपरेमा वडा कार्यालयको लागि एकमुष्ट निःसर्त अनुदान रकम उपलब्ध गराइनेछ,’ नगर प्रमुख लवशेर विष्टले समयमै सम्पत्ति कर भुक्तानी गर्ने करदातालाई १० प्रतिशत छुट दिइने जनाए ।

रामेछापका सबै स्थानीय तहले बिहीबार आगामी आवका लागि नीति तथा कार्यक्रम र बजेट ल्याए । मन्थली नगरपालिकाले १ अर्ब ७ करोड ८५ लाखको बजेट ल्याएको छ । बजेटमा चालुतर्फ ५७ करोड र पुँजीगततर्फ ३९ करोड रुपैयाँ रहेको नगर प्रमुख रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार यो वर्षको बजेटले नगरका मूलभूत संरचना निर्माणमा जोड दिएको छ ।

किसानलाई दूधमा अनुदान, विज्ञान विषयमा ३२ जना विद्यार्थीलाई छात्रवृत्ति, १५ शय्याको अस्पताल सञ्चालनलगायत कार्यक्रम बजेटमा समेटेको छ । रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख रुपैयाँका योजनासहितको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख नरबहादुर थापामगरका अनुसार नगरले कृषि, पर्यटन र आवधिक योजनामा समावेश भएका योजनालाई प्रमुखता दिएको छ । जिल्लाको गोकुलगंगा, सुनापति र दोरम्बाले कृषि पर्यटनलाई प्रमुखता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिकाले १ अर्ब २ करोड १२ लाख ६७ हजार ५ सय २५ रुपैयाँ बजेट ल्याएको छ । पालिकावासीको जीवनस्तर उकास्न कृषि तथा पशु क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधारलाई प्राथमिकता दिएको छ ।

बजेटको अंकमात्रै पेस

असार १० भित्रमा राजस्व र व्यय (बजेट) को अनुमान पेस गर्नुपर्ने समयसीमा नगुजार्न काभ्रेका स्थानीय तहले अंक मात्रै तय गरेर आगामी आवको बजेट प्रस्तुत गरेका छन् । केही स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्रै पेस गरेका छन् । स्थानीय तहले जेठ मसान्तसम्म एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरी असार ५ सम्म कार्यपालिकाबाट स्वीकृत गराएर असार १० भित्र गाउँ वा नगरसभामा पेस गर्नुपर्ने हुन्छ ।

बिहीबार पाँचखाल नगरपालिकाले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाँको बजेट प्रस्तुत गरेकोमा स्वास्थ्य पूर्वाधार, कृषि तथा ठूला आयोजनालाई प्राथमिकतामा राखिएको छ । नमोबुद्धमा नगर प्रमुख टंकप्रसाद शर्माले ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँको बजेट प्रस्तुत गरे । स्वास्थ्य क्षेत्रको भौतिक सुधार र रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकता दिएको उनले जनाए ।

यसैगरी, बनेपा नगरपालिकाले १ अर्ब ५५ करोड ६९ लाख ६८ हजार रुपैयाँ, मण्डनदेउपुर नगरपालिकाले ९९ करोड ५ लाख ९२ हजार १ सय ४२ रुपैयाँ, बेथानचोक गाउँपालिकाले ५२ करोड ५१ लाख ४२ हजार ५ सय १५ रुपैयाँ, रोशी गाउँपालिकाले ६४ करोड ४३ लाख ३१ हजार रुपैयाँ र खानीखोला गाउँपालिकाले ४६ करोड २८ लाख ७७ हजार ४ सय ३० रुपैयाँको बजेट ल्याएका छन् । बाँकी ४ स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्रै पेस गरेका छन् । बजेटको तयारी अन्तिम चरणमा पुगेको ती स्थानीय तहहरूले जनाएका छन् ।

दूधमा अनुदान, एकल पुरुषलाई भत्ता

सिन्धुपाल्चोकका स्थानीय तहहरूले कृषि, युवा स्वरोजगार र विपद् व्यवस्थापनलाई विशेष प्राथमिकता दिएका छन् । इन्द्रावतीले कृषि, पूर्ण स्वरोजगार र व्यावसायिक खेतीलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । ‘दूध बढी उत्पादन हुने इन्द्रावतीमा कृषकलाई प्रतिलिटर २ रुपैयाँ अनुदान, युवालाई ५० प्रतिशत ब्याज अनुदान र व्यावसायिक परियोजना सञ्चालन गर्ने युवालाई ५ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएका छौं,’ उनले भने । एक अर्ब १८ करोडको बजेट ल्याएको मेलम्ची नगरपालिकाले ६० वर्ष पुगेका एकल पुरुषलाई मासिक एक हजार भत्ता दिने नीति लिएको छ ।

कोरोना रोकथाम, मेलम्ची बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको नगर उपप्रमुख भगवती नेपालले बताइन् । सुनकोसी र बाह्रबिसेले पनि कोरोना रोकथाम र अन्य विकास पूर्वाधारका परियोजनालाई नीति तथा कार्यक्रममा समावेश गरेका छन् । बाढीले क्षतिग्रस्त हेलम्बुले विपद्कै कारण गाउँसभालाई अन्तिम रूप दिन प्रस्ताव गर्ने समय कुरिरहेको छ ।

प्रकाशित : असार ११, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?