२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एमालेको विवादले प्रदेशसभा बैठक अनिश्चित

बजेटमाथिको छलफल पनि अन्योलमा
सुवास विडारी

मकवानपुर — सत्तारूढ दल नेकपा (एमाले) भित्रै बजेटको बाँडफाँटलाई लिएर मतभेद भएपछि वाग्मती प्रदेशसभा बैठक बस्न सकेको छैन । गत असार १ मा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेसँगै प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगन गरिएको थियो ।

एमालेको विवादले प्रदेशसभा बैठक अनिश्चित

सरकारले बजेट बाँडफाँट विवरण पुस्तिका (रातो किताब) प्रदेशसभा सदस्यहरूलाई उपलब्ध नगराउँदा अझै प्रदेशसभा बैठकको मिति टुंगो लागेको छैन । बैठक अनिश्चित हुँदा बजेटमाथि छलफल पनि रोकिएको छ ।

‘बजेटको विषयमा पार्टीभित्र पूर्ण रूपमा सहमति भइसकेको छैन । हामीले बजेटलाई न्यायोचित रूपमा वितरण गर्नुपर्छ भनेका छौं,’ पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले भने, ‘बजेटले आजको समस्या सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो माग हो । अब यो विषय पार्टीको संस्थापन पक्षको हातमा छ ।’ एमालेको खनाल–नेपाल समूहनिकट नेपालले केही विषयमा सहमति भए पनि बजेट वितरणका धेरै विषयमा सहमति हुन बाँकी रहेको बताए । पार्टीभित्रको आन्तरिक छलफलपश्चात् निष्कर्षमा पुगिने उनको भनाइ छ ।

प्रदेश सरकारले चालु वर्षको तुलनामा करिब १० प्रतिशतले आकार वृद्धि गर्दै आगामी आवका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा भौगोलिक सन्तुलन कायम गरेको र पहुँचका आधारमा वितरण नगरिएको आर्थिक मामिला तथा योजनामन्त्री कैलशाप्रसाद ढुंगेलले दाबी गरे पनि एमालेभित्रकै खनाल–नेपाल समूहका सांसदहरू भने सरकारसँग रुष्ट छन् । अबन्डाका रूपमा धेरै रकम राखेर सरकारले मनलाग्दी बजेट चलाउन खोजेको उनीहरूको आरोप छ ।

आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पास गरेपछि हौसिएर बजेट ल्याएको डोरमणि पौडेल नेतृत्वको सरकार खनाल–नेपाल समूहका केही मागहरू सम्बोधन गरेर अगाडि बढ्न खोजेको थियो । ‘हाम्रा केही माग मात्र सम्बोधन गरेर अगाडि बढ्ने तयारीमा उहाँहरू हुनुहुन्थ्यो । तर बजेट फेल हुने देखिएपछि उहाँहरू रोकिनु भएको छ,’ उक्त समूहका अर्का एक नेताले भने, ‘प्रतिपक्षी दलसमेत बजेट फेल गराउने कसरतमा जुटिरहेका छन् ।’

प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रम फेल गराउन मोर्चाबन्दी गरे पनि प्रदेशसभामा एकल बहुमत रहेको एमाले एउटै कित्तामा उभिँदा असम्भव भएको हो । हाल १०९ सांसद रहेको प्रदेशसभामा एमालेका तर्फबाट सभामुखसहित ५६ जना छन् । प्रदेश सरकार गठन भएदेखि नै मुख्यमन्त्री पौडेलले असहयोग गरेको यसअघि खनाल–नेपाल समूहले पार्टी एकताका लागि सन्देश दिने भन्दै नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग गरेको थियो ।

एमाले मुख्य सचेतक दीपक निरौलाले बजेटको विषयमा आफ्नो दलभित्र मतभेद नरहेको दाबी गरे । ‘बजेट वितरणको विषयमा केही विवाद छैन । अहिले सिन्धुपाल्चोकमा आएको विपद् र स्थानीय तहहरू बजेट ल्याउने प्रक्रियामा रहेका कारण प्रदेशसभाको बैठक नराखिएको हो,’ उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूकै सहमतिमा आगामी बैठक बोलाइने बताए । भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले बजेट वितरण पुस्तिका सरकारले तयार गरिसकेको दाबी गरे । ‘सदन चल्नु अगाडि सबै सांसदको हातहातमा रातो किताब पुग्नेछ । त्यसको तयारी सरकारले गरिसकेको छ । अहिले विपद्को समयमा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित हुनुपर्ने भएका कारण प्रदेशसभा बैठक नबसेको हो,’ उनले भने ।

सभामुख सानुकुमार श्रेष्ठले बजेट बाँडफाँट पुस्तिका सांसदहरूले प्राप्त गरेसँगै बैठक बोलाइने जनाए । ‘गत वर्ष रातो किताब नहुँदा सदन अवरुद्धसमेत भएको थियो । त्यसकारण हामी रातो किताब सांसदहरूको हातमा परेपछि मात्र बैठक आह्वान गर्छौं,’ उनले बैठक आह्वान गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलहरूसँग छलफल गरिरहेको पनि जानकारी दिए ।

प्रकाशित : असार १०, २०७८ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?