कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

खाली हुँदै नमुना बस्ती

हरिहरसिंह राठौर

धादिङ — ध्वजापताका फरफराइरहेका छन् । आकार र रङमा एकनासका घर भएको बस्ती चिटिक्क देखिन्छ । तर बस्ती पुग्दा कुनै–कुनै घरमा मात्रै केही महिला र केटाकेटी मात्रै फेला पर्छन् ।

खाली हुँदै नमुना बस्ती

बाँकी सबै घरमा ताला लगाइएको छ । बिजुलीको मुख्य स्विच अफ गरिएको छ । कुखुरा र बाख्राका खोर खाली छन् । कतिपय घरका झ्यालहरूमा जस्तापाता ठोकेर बन्द गरिएको छ । समग्रमा बस्ती सुनसान छ ।

‘घर मात्रै चिटिक्क भएर के गर्नु ? श्रीमान्लाई दिनभर कमाइ गर्न अरू गाउँ नपठाई हुँदैन,’ रुबीभ्यालीको कपुरगाउँबाट भुवालेपानीको नमुना बस्तीमा आएर बसेकी ४२ वर्षीया सानुमाया तामाङले भनिन् ।

सानुमायाका श्रीमान् गुमान तामाङ स्थानीयका मकै गोड्ने, खेत खन्ने, डकर्मी काम गरेर परिवारको गुजारा चलाउँछन् । जोखिमयुक्त बस्तीमा वृद्ध आमाबाबुलाई छोडेर नमुना बस्ती सरेका युवापुस्तालाई अहिले हातमुख जोर्न धौ–धौ छ । दाताहरूले सदरमुकाम छेउछाउ चिटिक्क परेका घर निर्माण गरिदिए पनि खेती गर्ने जग्गा र रोजगारीको अभावमा उनीहरूलाई दिनहुँ गुजाराकै समस्या भएको हो ।

२०७२ वैशाखको भूकम्पले क्षतविक्षत पारेको उत्तरी धादिङको रुबीभ्यालीका स्थानीयलाई ज्वालामुखी–४ भुवालेपानी र तल्लो आलेमा ५६ घरको नमुना बस्ती बनाई सारिएको थियो । भूकम्पले चारैतिर पहिरो गएको र जमिन चिरा परेर बसोबासका लागि उच्च जोखिमयुक्त बनेपछि यहाँ पुनःस्थापना गरिएका पीडितहरूले अहिले धमाधम नमुना बस्ती छाड्न थालेका छन् । करिब १६ महिनामा निर्माण गरिएको ढोलास्थित भुवालेपानीका २९ मध्ये ९ घरमा र तल्लो आलेका २७ मध्ये १३ घरमा मात्रै अहिले विस्थापित परिवार बसिरहेका छन् ।

कोही परिवारका व्यक्ति वैदेशिक रोजगारीमा, कोही मनाङ, मुस्ताङमा जडीबुटी खोज्न र कतिपय पोखरा र काठमाडौंमा मजदुरी गरी बसेका छन् । कतिपय परिवार फेरि पुरानै गाउँ कपुरगाउँ र नेवियर नै फर्केका छन् । भूकम्प जाँदा यी बस्तीका ७५ मध्ये ६० घर ध्वस्त भएका थिए । चार जनाले ज्यान गुमाएका थिए । बस्तीको चारैतिर पहिरो गएर ‘नाकाबन्दी’ जस्तै अवस्था थियो । बस्तीको तलमाथि सबैतिर चिराचिरा परेपछि भूगर्भर्विद्हरूले पनि मानवीय बस्ती बसाल्न नमिल्ने भनेर सिफारिस गरेका थिए ।

प्रकाशित : असार १०, २०७८ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?