कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कांग्रेसद्वारा पनौती नगरसभा बहिष्कार

काभ्रे — पनौतीको नवौं नगरसभा कांग्रेसले बहिष्कार गरेको छ । कार्यपालिकाको अनुमोदनबिनै बजेट पेस गरेको, वडा समितिमार्फत सिफारिस योजनाहरु नसमेटेको, राजनीतिक रुपमा विभेद गरेको भन्दै कांग्रेस तर्फबाट निर्वाचित ६ वडाध्यक्षसहित २३ नगरसभा सदस्यले दोस्रो दिनको बैठक बहिष्कार गरेका हुन् । 

कांग्रेसद्वारा पनौती नगरसभा बहिष्कार

वडा नं ९ का अध्यक्ष सहकुल हुमागाईंले संविधान, स्थानीय सरकार सञ्चालन ऐन र नगरपालिकाको दिग्दर्शनविपरीत अवैधानिक बजेट आएकोले बहिष्कार गरेको बताए । वडा नं ८ का अध्यक्ष केशव वञ्जाराले कार्यपालिका बैठकमा छलफलको क्रममा १ अर्ब ५० करोड ८५ लाख ९१ हजारको बजेट अंक टिपाएर १ अर्ब ६५ करोड ६६ लाख ३५ हजारको बजेट प्रस्तुत गरी आफू अनुकूलका कार्यक्रम, योजनामा बजेट विनियोजन गरेको आरोप लगाए ।

स्वेच्छाचारी ढंगले र कार्यकर्ता लक्षित गरी एमालेका तर्फबाट निर्वाचित नगरप्रमुख, उपप्रमुखले बजेट, नीति तथा कार्यक्रम तय गरेको कांग्रेसको आरोप छ ।

वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारीले कोरोना नियन्त्रण, उपचारभन्दा भ्युटावरजस्ता योजनामा कार्यकर्ता पोस्न बजेट विनियोजन गरिएको आरोप लगाए । वडा नं ११ का अध्यक्ष तारामान लामाले वडाले सिफारिस गरेकाभन्दा पार्टीका कार्यकर्ताले भनेका योजना समावेस गरेको आरोप लगाए । वडा नं ७ का अध्यक्ष रामचन्द्र नासनासीले जनताको स्वास्थ्यभन्दा पैसालाई महत्व दिएको आरोप लगाए ।

वडा नं ६ का वडाअध्यक्ष सुधिर सापकोटाले बहुमतको दम्भ देखाएको बताए । वडा नं १० का महिला वडा सदस्य सरिता अधिकारी नेपालले महिलालक्षित कार्यक्रम नपरेको भन्दै वडामा हुने कार्यक्रममा नगर उपप्रमुखले आफ्ना कार्यकर्तामात्रै सहभागी गराएको आरोप लगाइन् ।

नगरसभा बहिष्कारको विषयमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने नगरप्रमुख भीम न्यौपानेले बताए ।

प्रकाशित : असार ८, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?