कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाँझो जग्गाभरि आलु खेती

टीकाप्रसाद भट्ट

रामेछाप — गोकुलगंगा–३ रस्नालुका आङनिमा शेर्पाले वर्षौंंदेखि बाँझो रहेको आफ्नो जग्गामा आलु लगाएका छन् । स्थानीय सरकारले आलु लगाउने किसानलाई प्रोत्साहन गर्नका लागि अनुदानको व्यवस्था गरेपछि शेर्पा आलु खेतीमा हौसिएका हुन् ।

बाँझो जग्गाभरि आलु खेती

‘मैले ३० रोपनी भन्दा धेरै बाँझो जग्गामा आलु लगाएको छु,’शेर्पाले भने, ‘पालिकाले बिउ र अनुदान दिएपछि खेतीका लागि सहज भएको हो । गाउँपालिकाले बाँझो बसेको ३० रोपनी जग्गा भन्दा धेरैमा खेती गरे प्रतिरोपनी ३ हजारको दरले अनुदान दिने व्यवस्था गरेको छ । शेर्पाले यो वर्ष झन्डै १ लाख रुपैयाँ पालिकाबाट अनुदान पाउँदैछन् ।

गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले एकल र सामूिहक खेती गरेर पालिकालाई कृषिमा अब्बल बनाउने अभियान रहेको सुनाए । सेतो सिमी, आलु, चिया, किवी यस पालिकाका प्रमुख उत्पादन हुन् । जिल्लामा यो वर्ष झण्डै ५० हजार रोपनी भन्दा बढी जग्गामा आलु खेती लगाइएको तथ्यांक कृषिज्ञान केन्द्रमा रहेको छ । यसअघि बाँझो देखिने डाँडाहरुमा यो वर्ष आलुले ढाकेको छ । एकल र समूहमा गरी २ सयदेखि ३ सय रोपनीसम्म आलु खेती गर्ने किसान रहेको अध्यक्ष सुनुवारले बताए ।

रस्नालुको दाब्रे, सोत्रिनी, मझुवा, बुर्के, ढुंगागाडे, खोलाखर्क लगायतको क्षेत्रमा आलु लहलह छ । ‘अबको केही दिनमा आलु खन्न तयार हुन्छ । अहिलेको जस्तो धेरै मात्रामा आलु लगाउने चलन थिएन । जग्गाहरु बाँझै हुन्थे,’ स्थानीय धनबहादुर सुनुवार भन्छन्, ‘भाउ वृद्धि, बजार सुविधा र स्थानीय सरकारको अनुदानले आलु खेतीले अभियानको रुपमा बिस्तार पायो । रस्नालु मात्र हैन गोकुलगंगाको चुचुरे र ठोसेमा पनि आलु खेती गर्ने किसान बढेका छन् । पालिकाले सबैतिरका किसानलाई एउटै नियमानुसार अनुदान दिन्छ ।

रामेछाप जिल्लामा उत्पादन भएको आलु मुढेको आलुको नाममा काठमाडौंमा पुग्ने गरेको थियो । अब रामेछापकै ब्राण्डमा बजारमा पठाउने तयारी स्थानीय सरकारले गरेका छन् । आलु उत्पादननै प्रमुख कृषि बाली भएको दोरम्बा गाउँपालिकाले यो वर्षदेखि दोरम्बामा उत्पादन भएको आलु आफ्नै ब्राण्डको नाम दिएर बजार पठाउँदै छ । उक्त पालिकाका प्रमुख प्रशासकीय अधिकृत धिराज मरासिनीका अनुसार पालिकाले अनुदानमा बोरा छपाएर किसानलाई बजारीकरणमा सहयोग गरेको छ । अब जुटको बोरामा दोरम्बाको आलु लेखेर काठमाडौंको बजारमा पुग्छ ।

गत वर्षदेखि रामेछापको आलुको भाउ उकालो लागे को छ । उच्च पहाडी चीसो हावापानीमा उत्पादन भएकाले तराईको तुलनामा अधिकांशले रुचाइरहेको यस क्षेत्रको आलु यो वर्ष सुरुमै १ सय धार्नीको हाराहारीमा बजारमा जान थालेको छ । गत वर्ष लकडाउनको कारण बजारमा आलु २ सय ३० सम्म पुगेको थियो । आलु व्यवसायीहरु किसानको बारी कान्लामै पैसा बोकेर खरिदका लागि पुग्ने गरेका छन् ।

उच्च पहाडी क्षेत्रमा उत्पादन हुने आलु फतक्क पाक्ने र स्वादिलो हुने गरेको छ । किसानहरुले जैविक मल प्रयोग गरेर उत्पादन गर्ने भएकाले कुहिने र सड्ने मात्रा बिरलै हुने स्थानीय मानबहादुर लामाले बताए । लामाका अनुसार जिल्लाका अधिकांश स्थानमा आलु खेतीमा रासायनिक मलको प्रयोग गर्ने चलन छैन ।

प्रकाशित : असार ८, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?