गेग्रान र लेदोले राजमार्गमा सधैं समस्या- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गेग्रान र लेदोले राजमार्गमा सधैं समस्या

विभिन्न खानी र ग्रामीण सडकबाट बगेर आउने गेग्रान र लेदोले पटक–पटक पृथ्वी राजमार्ग अवरुद्ध
हरिहरसिंह राठौर

जोगीमारा, धादिङ — गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हरेक वर्ष एउटै चिन्ता हुन्छ, वर्षात्को सुरुवातसँगै राजधानी जोड्ने व्यस्त पृथ्वी राजमार्गको सवारी जाम हटाउने । यो समस्या सवारीसाधनको चापले होइन, विभिन्न खानी र ग्रामीण सडकबाट बगेर आउने गेग्रान र लेदोले राजमार्ग पुरिँदा हुने गरेको छ ।

जोगीमारा तेक्राङ्गस्थित हिमाल सिमेन्ट उद्योगको चुनढुङ्गाखानीका कारण गएको पहिरो । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

पृथ्वी राजमार्गसमेत कार्यक्षेत्र रहेको डिभिजन सडक कार्यालय चितवनले समेत राजमार्ग अवरुद्ध हुने मुख्य कारण पहिरो र लेदो रहेको जनाएको छ ।

गत शुक्रबार राजमार्ग सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाललाई राजमार्गको स्थलगत अध्ययन गराउँदै गजुरीस्थित सडक विभागको साइट क्याम्पले राजमार्गसँग जोड्न मापदण्डविपरीत जथाभावी निर्माण गरिएका शाखा सडक, अवैध र मापदण्डविपरीतका बालुवा तथा ढुंगाखानीलाई तत्काल रोक्न आग्रह गरेको छ ।

तीमध्ये १३ वटा शाखा सडक राजमार्गलाई प्रत्यक्ष असर गर्ने गरी जोखिमयुक्त रहेको गजुरीस्थित डिभिजन सडक कार्यालयको सहायक क्याम्पका इन्जिनियर कृष्णबहादुर खड्काले बताए ।

पृथ्वी राजमार्गसँग जोड्नकै लागि मात्र ५ स्थानीय तहले कुल ८४ किलोमिटर लम्बाइ भएका ७४ वटा सडक खनेका छन् । कतिपय सडक ढुंगा र बालुवा खानीबाट निर्माण सामग्री ढुवानीका लागि बनाइएका छन् । यस्ता सडक व्यापारीले आफ्नै खर्चमा खनेका छन् । राजमार्गमा पहिरो आएर सबैभन्दा बढी सडक अवरुद्ध हुने बेनीघाट क्षेत्र हो । बालुवा र रातोमाटोको लेदोले अवरुद्ध हुने गजुरी र गल्छी हो । हेटौंडा सिमेन्ट उद्योगले बेनीघाटको जोगीमारा क्षेत्रमा २०३० सालदेखि सञ्चालनमा ल्याएको चुनढुंगा खानी र जवाङ खोलाको हिमाल सिमेन्टको खानीले प्रयोग गर्ने विस्फोटक पदार्थ, पहरा फुटाउन प्रयोग हुने डोजरका ब्रेकरहरूले थिलथिलो पहाड नै हाल पहिरो आउने मुख्य कारण रहेको सडक विभागको निष्कर्ष छ ।

विगत ४८ वर्षदेखि देशका विभिन्न सिमेन्ट उद्योगहरूलाई चुनढुंगा बेच्ने यी २ वटा खानी सञ्चालकले वातावरणीय सर्त पालना नगरेको विभागको आरोप छ । राजमार्गदेखि माथिल्लो भागमा रहेका खानीबाट निस्केको ग्रेगानको व्यवस्थापन गर्नुको साटो राजमार्गतिरै जथाभावी मिल्काइदिँदा वर्षा भयो कि सिधै राजमार्गमा आएर यातायात अवरुद्ध र सवारीसाधनहरू पुरिने गरेका छन् ।

ग्रेगान व्यवस्थापन गर्न नसक्दा खानी सञ्चालक आफैंलाई पनि घाटा पुगेको छ । गत साउन ५ मा जवाङ खोलास्थित खानी सञ्चालक अन्नपूर्ण क्वेरिजका १० वटा टिपर र ४ वटा डोजरलगायतका उपकरण, अस्थायी प्रहरी चौकीको कार्यालयसमेत ग्रेगानले पुरेको थियो ।

२०४६ मंसिरमा जोगीमाराको पहिरोले एउटा बस त्रिशूलीमा बगाएर बेपत्ता पारेको थियो । त्यतिबेला बंगलादेशबाट बोलाइएका गोताखोरले समेत उक्त बस फेला पार्न सकेका थिएनन् । त्यही पहिरो गएको स्थानमा पर्खाल लगाएर रोकथाम गरिए पनि ३१ वर्षपछि गत वर्षदेखि पुनः सोही स्थानमा पहिरो जान सुरु भएको छ । ‘सडक विभागको सहयोगमा हामी गत वैशाखदेखि नै दिनरात बेनीघाटदेखि गल्छीसम्मका पहिरो र बालुवा लेदो पन्छाउनमै व्यस्त छौं,’ गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुदर्शन जोशीले भने ।

प्रकाशित : असार ८, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

४० हजार घूससहित धादिङका सहायक वन अधिकृत पक्राउ

हरिहरसिंह राठौर

धादिङ — सदरमुकामस्थित निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई ४० हजार घूस रकमसहित पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो । उजुरी निवेदनको आधारमा स्ट्रिङ अपरेसनमा कार्यालय प्रमुख पौडेललाई रंगेहात पक्राउ गरिएको आयोग प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले बताए ।

‘केही दिनअघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ’, प्रवक्ता रिसालले भने, ‘त्यही मुद्दा मिलाउन भन्दै लिएको ४० हजार नगदसहित पक्राउ गरिएको हो ।’

पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन् । पौडेलले गत कार्तिकदेखि निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित : असार ६, २०७८ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×