२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

वृद्धवृद्धा अझै जोखिमयुक्त बस्तीमा

हरिहरसिंह राठौर

धादिङ —  सदरमुकाम धादिङबेंसी वरपरका पाखामा रंगीचंगी जस्ताले छाएका स–साना बस्ती थपिएका छन् । अधिकांश एकनासका छन्, कतिपय घरहरू २०७२ को भूकम्पपछि जोखिममा परेका उत्तरी धादिङका बासिन्दालाई राष्ट्रिय पुनर्निर्माण प्रााधिकरणले नै जग्गा किनेर निर्माण गरिदिएको हो ।

वृद्धवृद्धा अझै जोखिमयुक्त बस्तीमा

कतिपयका घर विभिन्न संघसंस्थाहरूले बनाइदिएका हुन् । तर यी बस्तीका सबैजसो घरमा युवा उमेरका व्यक्ति मात्रै छन् । ज्येष्ठ नागरिक भने पुर्ख्यौली थलो छाडेर आएका छैनन् ।

यसरी सदरमुकाम वरपर बसाइँ सरेका घरधुरीको संख्या एक हजार नाघेको नीलकण्ठ नगरपालिकाको तथ्यांक छ । ‘भूकम्पपछि उत्तरी भेगका जोखिमयुक्त बस्तीहरूबाट आएर जग्गा खरिद तथा आवास निर्माण अनुदानमा सदरमुकाम वरपर बसाइँ सरेकाका घरमा कोही पनि वृद्धवृद्धा छैनन् । उनीहरू पुरानै बस्तीमा छन् । यहाँका अधिकांश घर कुर्न एक/दुई जना युवा मात्रै छन्,’ नीलकण्ठ–१२ का अध्यक्ष बाबुराम लम्सालले भने ।

सरकारी तथ्यांकमा उत्तरी धादिङका जोखिमयुक्त बस्ती स्थानान्तरण भएको रेकर्ड भए पनि ती बस्तीमा मानवीय बसोबास अझै कायम छ । भूकम्पले क्षति पुगेका बस्तीमा वर्षात्को समयमा बाढीपहिरोको जोखिम उत्तिकै छ । तर ज्येष्ठ नागरिक जोखिमकै बीच पुर्ख्यौली थलोमा बसिरहेका छन् । रुबी भ्याली गाउँपालिका–२ को आरनडाँडा, ४ को हिम्दुङ, ५ को लामाटोल, झाँक्री टोल, कपुर गाउँ, नेवेर, ६ को तीरगाउँका मात्रै करिब २ सय ५९ घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हरेक वर्ष वर्षातमा जोखिमयुक्त बस्ती सार्ने कुरा उठे पनि वर्षात् सकिएपछि सेलाएर जाने गरेको प्रदेशसभा सदस्य जगत सिंखडाले बताए । जिल्लाको उत्तरी क्षेत्रमा रहेको खनियाँवासको झार्लाङ, दार्खा, सत्यदेवी, रुबी भ्यालीका लापा, तिप्लिङ, सेर्तुङलगायतका बस्तीहरू पनि भूकम्पपछि पहिरोको जोखिम क्षेत्र मानिन्छन् ।

भूकम्पले जमिन चिराचिरा पारेपछि भूगर्भविद्ले त्यस भेगका ८ बस्तीका २ सय ७६ घरधुरी अन्यत्रै सार्नुपर्ने सुझाव दिएका थिए । तर ज्येष्ठ नागरिकले पुर्ख्यौली बस्ती छाड्न नचाहेका कारण बस्ती सार्न नसकिएको जनप्रतिनिधिहरू बताउँछन् । ‘पुनर्निर्माण प्राधिकरणले खटाएका भगोलविद्हरूले खतरायुक्त बस्ती अन्तै सार्न सुझाव दिए पनि पाको उमेर समूहका नागरिक बस्ती छोड्नै चाहँदैनन्,’ रुबी भ्याली–२ का वडाध्यक्ष पेम्वा घलेले भने ।

प्रकाशित : असार ८, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?