नुवाकोट, काभ्रे र सिन्धुलीमा थप एक साता निषेधाज्ञा

नुवाकोट,काभ्रे,सिन्धुली — नुवाकोट,काभ्रे र सिन्धुलीमा एक–एक साता निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले मंगलबारबाट एक साताको लागि निषेधाज्ञा थपेको छ । कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले मंगलबार राति १२ बजेबाट सकिन लागेको निषेधाज्ञा पुन थपेको हो ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल मंगलबार राति १२ बजेदेखि असार १५ गते राति १२ बजेसम्म जिल्लाभर निषेध आदेश जारी गरेका छन् । स्थानीय प्रशासनले खाद्य सामाग्री तरकारी, फलफूल पसल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णपालना गर्ने/गराउने गरी बिहान ११ बजेसम्म मात्र खुला गर्न भनिएको छ । त्यसैगरी, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

काभ्रेमा भने जोरबिजोर प्रणाली लागू गरी नीजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णयसहित जिल्ला प्रशासन कार्यालय काभ्रेले ७ दिनको लागि थपेको छ । बारका आधारमा अन्य पसल व्यवसाय समेत सञ्चालन गर्न दिने गरी असार १४ गतेसम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

निषेध आदेश थप भएको यो छैटाैंपटक हो । वैशाख १९ गतेबाट २६ गते राति १२ बजेसम्मको लागि जारी निषेध आदेश पहिलोपटक जेठ २ गते राति १२ बजेसम्म र दोस्रो पटक जेठ १२ गते राति १२ सम्मको लागि थपिएको थियो । तेस्रोपटक जेठ २२ गतेसम्म लम्बिएको निषेधाज्ञा चौथोपटक थप गरी जेठ ३१ सम्म पुर्‍याइएको थियो । असार ७ राति १२ बजेबाट निषेधाज्ञा सकिने भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले ७ दिनको लागि थपेको हो ।

विकास निर्माण र सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आलोपालोको आधारमा सञ्चान हुनेछन् । बैंक तथा वित्तिय संस्था, सहकारी, बिमा, रेमिटयान्सको कारोबार गर्ने संस्था पनि न्यूनतम जनशक्ति प्रयोग गरेर सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन हुने जारी आदेशमा उल्लेख छ । खाद्यान्न , तरकारी, फलफूल लगायतका अत्यावश्यक खाद्यवस्तुका पसल यसअघि बिहान ११:३० बजेसम्म खुल्न दिइएको छ । हार्डवेयर, निर्माणजन्य सामाग्रीका पसल बिहान ११ बजेदेखि ६:३० बजेसम्म खुल्नेछन् । फेन्सी, भाँडाकुँडा, विद्युतीय सामान, कपडा, जुत्ता, कस्मेटिक लगायतका पसलहरु बार अनुसार खुल्न पाउने सूचनामा उल्लेख छ ।

यस्तै, सिन्धुलीमा पनि स्वास्थ्य मापदण्ड अपनाएर दिउँसो ३ बजेसम्म पसल खोल्न पाउने गरी सोमबार सातौं पटक ७ दिनका लागि निषेधाज्ञा थपेर असार १४ गतेसम्म लगिएको छ । खुकुलो बनाइएको प्रावधानअनुसार निजी सवारी साधन जिल्लाभित्र चल्न पाउनेछन् ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा सुरक्षा समितिको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यसअघि लगाएको निषेधाज्ञालाई असार ७ गते राति १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । यसअघि लगाइएको निषेधाज्ञाको समयावधि सोमबार राति १२ बजे सकिँदै छ ।

सिन्धुलीमा कोरोना संक्रमण दर बढेपछि मानिसको भीडभाड नियन्त्रण गर्न बैशाख २२ गतेदेखि लगाउन सुरु गरिएको निषेधाज्ञा ७ पटकसम्म थपिएको छ । थप भएको निषेधाज्ञामा व्यवसायिक पसलहरु स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर दिउँसो ३ बजेसम्म खोल्न पाउने अनुमति दिइएको प्रजिअ न्यौपानेले बताए ।

प्रकाशित : असार ७, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?