कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जोखिममा दोलालघाट पुल

काभ्रे — अरनिको राजमार्गअन्तर्गत भुम्लु–१० स्थित दोलालघाट पुल जोखिममा परेको छ । मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती नदीमा पनि पानीको सतह बढेपछि उक्त मोटरेबल पुल जोखिममा परेको हो ।

जोखिममा दोलालघाट पुल

बाढीसँगै बगेर आएको लेदो थुप्रिँदै गएपछि जलसतह पुलबीचको दूरी घट्दै गएको छ । ‘अनुगमन गर्दा पुल जोखिममा रहेको देखियो,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने, ‘पुललाई जोखिम हुने गरी थुप्रिएको नदीजन्य पदार्थ तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।’

शुक्रबार दोलालघाटमै बसेको समितिको बैठकले इन्द्रावती नदीले बगाएर ल्याएको ढुंगा, गिट्टी र बालुवाले नदीको सतहको उचाइ बढेकाले उक्त पुललाई क्षति पुग्ने अवस्थाको विश्लेषणसहित पुल क्षेत्रमा बाढीले थुपारेको नदीजन्य पदार्थ व्यवस्थापन गर्न र बाढी पूर्वसूचना प्रणाली जडान गर्न सम्वन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको हो । चीन जोड्ने उत्तरी नाका तातोपानी तथा सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जान यो पुल प्रयोग हुन्छ ।

पुल जोखिममा परेको भन्दै स्थानीयले चिन्ता प्रकट गरेका छन् । स्थानीय रामकृष्ण श्रेष्ठले दोलालघाट बजार अब ‘भगवान् भरोसा’ मा रहेको बताए । इन्द्रावती र सुनकोसी नदीमा आएको बाढीको कारण दोलालघाटका दर्जन बढी घरटहरा डुबानमा परेका छन् । केही खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । नदीमा जलसतह बढ्दै गए बस्ती पनि जोखिममा पर्ने भन्दै समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोसी नदीमा तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए ।

प्रकाशित : असार ६, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?