झोलुंगे पुल बगेपछि तीन गाउँको सम्पर्क टुट्यो

सामान्य स्वास्थ्य उपचारदेखि दैनिक उपभोग्य सामग्री किनमेल पनि ठप्प
अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षापछि मंगलबार राति नेशम खोलामा आएको बाढीले जुगल गाउँपालिकाको दिपु, तेगा र तेम्बाथान जोड्ने एक मात्र झोलुंगे पुल बगाएपछि स्थानीयलाई थप संकट थपिएको छ । यी गाउँलाई हालसम्म सडक सञ्जालले छोएको छैन ।

झोलुंगे पुल बगेपछि तीन गाउँको सम्पर्क टुट्यो

वर्षौंदेखि बिजुली, भरपर्दो सञ्चार सुविधा, उच्च शिक्षालगायत विकासको पर्खाइमा रहेका यहाँका दुई सय २० परिवार बजार क्षेत्रसँग जोड्ने पुल पनि बगाएपछि पिरोलिएका छन् । ‘पुल त बगायो नै । वर्षात्मा नेशम खोला यति उर्लिएर बग्छ कि तर्ने कुरा सपना पनि सोच्न सकिँदैन । यस्तो हुँदा तीन गाउँको गुम्बाथान, कात्तिके भेगसँग पूर्ण सम्पर्क टुटेको छ,’ स्थानीय साहिँला शेर्पाले भने ।

यसबाहेक ब्रह्मायणी खोलाले दिपु र तेगा जोड्ने पुल पनि बगाएको हो । ब्रह्मायणी खोलाले कटान सुरु गरेपछि दिपु र तेगाका दर्जनभन्दा बढी परिवार सुरक्षित स्थानमा पाल टाँगेर बसिरहेका छन् । जुगल हिमालको काखमा रहेको दिपु,

तेगा र तेम्बाथान गाउँ पुग्न अहिलेसम्म सडक पुगेको जुगलको गुम्बाथानबाट झन्डै दुई दिन लाग्छ । ‘वर्षौंपछि सडक जोडिने आस थियो । त्यो त भएन भएन, उल्टै दुई ठाउँको मुख्य पुल नै बग्यो । यहाँ बिजुली र सञ्चार नेटवर्क छैन,’ शेर्पाले भने, ‘कोरोना महामारीकै बीच यसले सिंगो गाउँमा तनाव थपेको छ ।’

सडक नपुगेका कारण स्थानीय गर्भवती, सुत्केरी र अन्य गम्भीर बिरामीले उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता अघिदेखि नै थियो । त्यहीमाथि झोलुंगे पुलसमेत बगेपछि यहाँका बासिन्दालाई सामान्य औषधि र प्राथामिक उपचारकै लागि पनि चिन्ता थपिएको छ । ‘दुई दिन हिँडेर भए पनि उपभोग्य सामान गुम्बाथान र कात्तिके बजारबाट ल्याउने गर्थ्यौं । पुल नहुँदा जीवनशैली पूरै बिथोलिएको छ,’ तेगाकी सुनमाया शेर्पाले दुःखेसो गरिन् ।

जुगल–३ तेम्बाथानसहित दुई गाउँसम्म करिब ७ किलोमिटर सडक जोड्न दुई वर्षअघिबाट थालिएको काम बर्खालगत्तै रोकिएको छ । यी दुई पुलसहित जुगलको काङलाङ जोड्ने पुल पनि बाढीले बगाएपछि स्थानीयलाई भेट्न र समस्या बुझ्न गाउँमा पुगेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । ‘काङलाङ जोड्ने पुल साँघुरो भएकाले अस्थायी पुल बनाएर व्यवस्थापन गर्‍यौँ तर नेशम खोला र तेगाको पुलको विकल्प सोच्न सकिएको छैन । तत्कालै पुल नबनाए त्यहाँका स्थानीयलाई खाद्यान्न र स्वास्थ्यजस्ता धेरै समस्या पर्नेछ,’ उनले भने ।

दुई प्राविधिकले गरेको प्राविधिक अध्ययनका अनुसार नेशम खोलामा बाढी आउनुको कारण माथिल्लो भेगमा निर्माणाधीन सिन्धुज्वाला जलविद्युत् आयोजना रहेको उनले दाबी गरे । ३६ मेगावाट क्षमताको आयोजनाले जथाभावी फालेको कच्चा सामग्री खोलाको माथिल्लो क्षेत्रमा आएर थुप्रिएको थियो । त्यसैले खोला थुनिँदा आएको बाढीले पुल चुँडाएर बगाएको उनको निष्कर्ष छ । दिपु र तेगाका २० परिवारलाई सुरक्षित स्थानमा बस्न तत्काललाई पाल र अन्य उपभोग्य वस्तुको व्यवस्थापन गरिएको उनले बताए ।

प्रकाशित : असार ६, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?