१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सुनकोसी तटीय क्षेत्रमा बाढीको त्रास

राजकुमार कार्की

सिन्धुली — सुनकोसी नदीमा बाढी आएपछि गोलन्जोर गाउँपालिका ७ तटीय क्षेत्र खुर्कोट बसपार्कका स्थानीयहरु त्रसित बनेका छन् । नदी तटीय क्षेत्रमा रहेको बसपार्क बजारका स्थानीयहरु सिन्धुपाल्चोकको इन्द्रावतीको बाढी र तामाकोसीको सहायक रोङ्सी खोला चीनतीर थुनिएको खबरले त्रसित बनेका हुन् । 

सुनकोसी तटीय क्षेत्रमा बाढीको त्रास

इन्द्रावती, तामाकोसी, भोटकोसी सबै सुनकोसी नदीमा मिसिन्छन् । तामाकोसी र सुनकोसीको नदीको संगमस्थल त्रिवेणीबाट खुर्कोट बजार वसपार्क एक किलोमीटर नजिकको तटीय क्षेत्रमा छ । सुनकोसी नदी भन्दा खुर्कोट बसपार्क बजारको सतह केही मिटर मात्र अग्लो छ । यसअघि सिन्धुपाल्चोकको जुरे पहिरोले सुनकोसी नदी थुन्दा एकैपटक फुटेमा पुरै वसपार्क बजार बगाउने भन्दै खाली गरिएको थियो ।

'सिन्धुपाल्चोकमा बाढीले तहसनहस बनाएको खबरले आफूहरु त्रसित भइरहेकोमा फेरि चिनतिरबाट फुटेर तामाकोसी हुँदै बाढी आउने भन्ने सुनिएको छ,' बसपार्क बजारमा पसल गर्दै आएकी मुना श्रेष्ठले भनिन्, 'सुनकोसी नदी नजिकै भएकाले जुनसुकैबेला बजारमा पस्न सक्छ, त्यही भएर हामी रातभर जाग्राम बस्छौं ।' वर्षेनीदेखि आफूहरु बाढीको त्रासमा रहेको उनले सुनाइन् ।

बजार भन्दा सुनकोसी नदी बढीमा ३/४ मिटरमात्र तल रहेको श्रेष्ठले जानकारी दिइन । बजार क्षेत्रका करिब दुई सय परिवार त्रासदीमा रहेको उनले बताइन् ।

सुनकोसीमा बाढी आउँदा सुनकोसी गाउँपालिकाको नेपालथोक, झाँगाझोली रातमाटा, चैनपुर, खाल्टे, मुलकोट, गोलन्जोर गाउँपालिकाको ग्वाल्टार, बितिजोर, मुर्कीवेसी, डुँडभन्ज्याङ र फिक्कल गाउँपालिकाको खाङसाङ,रत्नावती लगाएतका नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई खतरा रहन्छ ।

सुनकोसीमा बाढी आएर पानीको बहाब बढेपछि सबैतिर सचेत गराइएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले जनाइन् । 'कोसी किनारमा अस्थायी बसोबास गरेकालाइ छाड्न उर्दी गरेका छौं,' उनले थपिन् ।

सुनकोसी गाउँपालिकाको दुम्जादेखि उदयपुरको घुर्मीसम्म करिब ११० किलोमिटर सुनकोसी नदी तटीय क्षेत्रमा पुर्‍याउन सक्ने क्षतिलाई आँकलन गरी पूर्वतयारी गरिएको अध्यक्ष बोहोराको भनाइ छ । तटीय क्षेत्रमा रहेका मातहतका प्रहरी युनिटहरुलाई हाइअलर्टमा रहन निर्देशन दिई प्रहरी निरिक्षकको कमाण्डमा २५ जनाको टोली उद्धारको लागि तयार राखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

प्रकाशित : असार ५, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?