राक्सिराङमा सुविधायुक्त स्वास्थ्य चौकी

प्रताप विष्ट

हेटौंडा — पानी परेपछि स्वास्थ्य चौकीभित्र छाता ओडेर बस्नुपर्थ्यो । औषधि र उपकरणलाई प्लास्टिकले छोपेर राख्नुपर्ने । बर्थिङ सेन्टरसमेत रहेको जिल्लाकै विकट राक्सिराङ गाउँपालिका–६ शिलाधुनीस्थित स्वास्थ्य चौकीको जीर्ण अवस्था र सेवा देखेपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यूएसएआईडीले सुविधायुक्त भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिदिएको छ ।

राक्सिराङमा सुविधायुक्त स्वास्थ्य चौकी

समुद्री सतहबाट १६ सय मिटरको उचाइमा रहेको सिलाधुनीमा करिब ५ करोड रुपैयाँको लागतमा सुविधायुक्त स्वास्थ्य चौकी भवन निर्माण भएको हो । ३ रोपनी जग्गामा फैलिएको चट्याङ प्रतिरोधी भवनमा २२ कोठा छन् । २५ वाटको सोलार प्यानलसमेत जडान गरिएको छ । ‘आवश्यक स्वास्थ्यका उपकरणहरू सबै उपलब्ध गराएका छौं,’ नेपाल रिकन्स्ट्रक्सन इन्जिनियरिङ सर्भिसेजका इन्जिनियर सुदीप थकालीले भने, ‘बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने भए बेडको पनि व्यवस्था गरेका छौं ।’

सीमान्तीकृत चेपाङ समुदायको बाहुल्य रहेको विकट बस्तीमा यतिका सुविधायुक्त स्वास्थ्य चौकी भवन भनेकोमा स्थानीयवासी एवं संविधानसभा सदस्य गोविन्दराम चेपाङले खुसी व्यक्त गरे । यसअघि यहाँ २०५२ सालमा स्वास्थ्य चौकी स्थापना गरिएको थियो । तर उपचारका लागि भवन र र उपकरणको अभाव थियो । ‘अहिले भवन र उपकरणहरू पनि छन्,’ वरिष्ठ अहेव सूर्यबहादुर थिङले भने, ‘अब सामान्य रोगको उपचारका निम्ति गाउँलेहरू अन्यत्र धाउनु पर्दैन ।’ आफ्नो वडामा सुविधायुक्त स्वास्थ्य चौकी भवन बनेकामा वडाध्यक्ष सिंहलाल चेपाङ पनि दंग छन् ।

राक्सिराङ–६, ७, ८ र ९ तथा चितवनको राप्ती नगरपालिका–१, ११, १२ र १३ का बासिन्दाले समेत उक्त स्वास्थ्य चौकीबाट सेवा लिन सक्नेछन् । ‘यहाँका विपन्न चेपाङ, तामाङ समुदाय गाउँमै सुविधासम्पन्न अस्पताल बनेपछि खुसी छन्,’ राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘यहाँ अब एक जना डाक्टरको खाँचो छ, गाउँपालिकाले त्यो आवश्यकता पूर्ति गर्ने प्रयास गर्नेछ ।’

हाल स्वास्थ्य चौकीमा वरिष्ठ अहेव थिङसहित ६ जना स्वास्थ्यकर्मी छन् । भवन निर्माणका लागि स्थानीय बुद्धिमान थिङ र गर्वुसिंह मोक्तानले ३ रोपनी जग्गा दान गरेका थिए । यूएसएआईडीले सर्भिसेजअन्तर्गत जिल्लामा १० वटा विद्यालय तथा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ ।

प्रकाशित : असार ४, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?