दुर्गमबाट कोरोना खोप फिर्ता

खोप लगाए मरिन्छ भन्ने भ्रमका कारण वृद्धवृद्धा खोप केन्द्रसम्म नआएको स्वास्थ्यकर्मीको भनाइ

हेटौंडा, चितवन — कोरोना भाइरसविरुद्धको खोप लगाउन अहिले सहरी क्षेत्रमा हानथाप छ । लक्षित समूहभन्दा पनि पहुँचवालाहरू खोपका लागि स्वास्थ्यकर्मीलाई दबाब दिइरहेका छन् । तर मकवानपुर र चितवनका दुर्गम गाउँका ज्येष्ठ नागरिकले भने खोप लगाउन रुचि मात्र नदेखाएका होइनन्, खोप लगाउनु पर्ला भनेर घरबाटै भागेका छन् ।

दुर्गमबाट कोरोना खोप फिर्ता

दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा पठाइएको खोप खपत नभएर स्वास्थ्य कार्यालयमा फिर्ता पठाइएको छ ।

सरकारले जेठ २५, २६ र २७ मा देशभर ६२–६४ वर्षका ज्येष्ठ नागरिकका लागि भेरोसेल खोप दिने अभियान चलाएको थियो । जसअन्तर्गत मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–७ धिराङस्थित स्वास्थ्य चौकीमा २० वटा खोप पठाइएकोमा ११ जनाले मात्र लगाएका छन् । ‘अरू खोप लगाउनै आएनन्,’ स्वास्थ्य चौकी प्रमुख अन्जना चेपाङले भनिन्, ‘खोप लगाउनुपर्छ भनेर केही ज्येष्ठ नागरिकहरू घरै छोडेर अन्यत्र भागे ।’

६४ वर्षीय आइतलाल मोक्तानलाई आफैंले भेटेर खोप लगाउन आउन भने पनि उनी त्यही दिन छोरीको घर चितवनतर्फ गएको अन्जनाले सुनाइन् । ‘यो खोप लगाए मरिन्छ भन्ने भ्रम यहाँ छ,’ उनले भनिन्, ‘खोप हाल्नुपर्छ भनेर सम्झाउन खोज्दा पटक्कै सम्झिँदैनन् ।’

राक्सिराङ–६ सिलाधुनीस्थित स्वास्थ्य चौकीमा पनि २० जना ज्येष्ठ नागरिकका लागि खोप पठाइएकोमा आधा खोप फिर्ता भएको छ । ‘खोप लगाउन आउनुहोस् भन्दा यहाँ वृद्धवृद्धाहरू डराएर भागे, बल्लबल्ल १० जनालाई फकाएर खोप लगाइयो,’ स्वास्थ्य चौकी प्रमुख सूर्यबहादुर थिङले भने । धिराङ र सिलाधुनीका मात्र होइन, जिल्लाका अन्य दुर्गम भेगमा पनि अवस्था उस्तै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपमाथिको भ्रम निवारण हुन नसक्दा यस्तो अवस्था आएको कार्यालयले औंल्याएको छ ।

यसैगरी, चितवनका सहर बजारका खोप केन्द्रमा लामो लाइन लाग्दा पहाडी क्षेत्रमा भने सुनसान जस्तै देखिए । सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको ठकुरीभन्ज्याङमा स्वास्थ्य चौकी छ । पूर्वपश्चिम राजमार्गको खुरखुरे बजारबाट २२ किलोमिटर उत्तरमा पर्ने यो स्वास्थ्य चौकीले १२ जनालाई खोप लगाउने जिम्मेवारी पाएको थियो । तर तीन जना मात्रै आए । ‘तीमध्ये उमेर समूहका दुई जना मात्रै थिए । पहिले लगाउन छुट्नु भएको एक स्वास्थ्य स्वयंसेविकाले पनि यस पटक लगाउनुभयो,’ स्वास्थ्य चौकी प्रमुख कुमार सापकोटाले भने, ‘घरघरै गएर आउनू भनेका थियौं तर सबै आउनुभएन ।’ उनका अनुसार यसअघि कोभिसिल्ड खोप लगाउँदा पनि ६० जनामध्ये ४२ जनाले मात्रै लगाएका थिए ।

राप्ती–१० को कोराकस्थित खहरेमा सामुदायिक स्वास्थ्य इकाइ छ । यहाँ २३ जनालाई पुग्ने खोप आएको थियो । तर ८ जनाले मात्रै लगाएका इकाइ प्रमुख निलम गौतमले बताइन् । ‘अघिल्लो पटक राम्रै उपस्थिति थियो । तर यो पटक त्यस्तो देखिएन,’ गौतमले भनिन् । कोराक क्षेत्रमा दुई स्वास्थ्य केन्द्र छन् । यी केन्द्रमा जम्मा १० जनाले मात्रै खोप लगाएका छन् । खोपका बारेमा भ्रम फैलिएकाले मान्छेहरू लगाउन नआएको वडाध्यक्ष अमरबहादुर तामाङ बताउँछन् । ‘खोप लगाउनु राम्रो हैन भन्ने प्रचार फैलिएछ । हामीलाई सम्झाउन बुझाउनै गाह्रो भयो । नभए यहाँ खोप लगाउनु पर्ने व्यक्तिहरू धेरै छन्,’ उनले भने ।

इच्छाकामना गाउँपालिकामा पनि आदिवासी चेपाङ समुदायको बाक्लो बसोबास छ । तर यहाँ भने राप्तीमा पठाएर फिर्ता भएको सबै खोप खपत भएको छ । चितवनमा यो पटक ११ हजार २ सय ३६ जनाले भेरोसेल खोप लगाएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

प्रकाशित : असार ३, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?