२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिन्धुलीमा घटेन संक्रमण

राजकुमार कार्की

सिन्धुली — मुलुकभर कोरोना संक्रमण दर घटिरहेको देखिए पनि सिन्धुलीमा भने परीक्षण गराएका आधाभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ ।

सिन्धुलीमा घटेन संक्रमण

कमलामाई नगरपालिका–६ मा रहेको पीसीआर ल्याबमा आइतबार २१ जनाको परीक्षण गरिएकोमा १९ जनामा संक्रमण देखियो । यसको पोजिटिभिटी रेट ९० प्रतिशतभन्दा बढी हो । सोमबार ५५ जनाको परीक्षण गर्दा ३० जनामा, मंगलबार ४१ जनाको परीक्षण गर्दा २८ जनामा र बुधबार ६२ जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भयो । यी तीनै दिन पनि पोजिटिभिटी रेट ५० प्रतिशतभन्दा अधिक रह्यो ।

स्वास्थ्य कार्यालयका अनुसार एन्टिजेन परीक्षणमा समेत संक्रमण दर घटेको छैन । कार्यालयका फोकल पर्सन सन्तोष माझीका अनुसार हालसम्म एन्टिजेन परीक्षण गर्दा तीन सय १६ जनामा संक्रमण पाइएको छ । ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरूको एन्टिजेन गरिएकोमा पनि संक्रमण दर ७० प्रतिशतभन्दा कम छैन,’ उनले भने । लक्षण देखिए पनि परीक्षण नगराउनेको संख्या धेरै रहेको कार्यालयका कर्मचारीहरू नै बताउँछन् । यसमध्ये केहीको मृत्युसमेत भएको उनीहरूको दाबी छ ।

समाजबाट अपहेलित भइने डरले परीक्षण नगराएका थुप्रै व्यक्ति भेटिएको कोभिड अस्पतालका इन्चार्ज अमृत कार्कीले बताए । तीन दिनयताको तथ्यांक हेर्दा मृत्युदरसमेत नघटेको देखिन्छ । दिनमा कम्तीमा एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो साता यो संख्या २४ थियो भने अहिले ३२ पुगेको छ । कामको चाप र कोरोनालाई लिएर डर हराउँदा संक्रमण दर र मृत्युदर घटेजस्तो देखिए पनि रत्तिभर नघटेको कार्कीको दाबी छ । उनी भन्छन्, ‘आम नागरिकलाई सचेत गराएर कडाइ नगर्ने हो भने फेरि भयावह अवस्था नआउला भन्न सकिन्न । डढेलो लाग्नलाई भिल्को भए काफी हुन्छ ।’

प्रकाशित : असार ३, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?