चितवनमा असार १० सम्म निषेधाज्ञा

रमेशकुमार पौडेल

चितवन — जिल्ला प्रशासन कार्यालयले असार १० सम्म चितवनमा निषेधाज्ञा कायम रहने निर्णय गरेको छ । पछिल्लो पटक थप भएको निषेधाज्ञा बिहीबार मध्यरातबाट सकिँदै थियो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार दिउँसो जारी गरेको सूचनामा कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च रहेको हुँदा असार १० सम्म निषेधाज्ञा कायम रहने उल्लेख छ ।

चितवनमा असार १० सम्म निषेधाज्ञा

यसअघि निषेध गरेका र छुट दिएका सबै गतिविधि कायम रहने गरेर नयाँ सूचना जारी भएको हो । कोरोना संक्रमण तीव्र भएसँगै चितवनमा सुरुमा गएको वैशाख १६ गते मध्यरातबाट वैशाख मसान्तको मध्यरातसम्मका लागि निषेधाज्ञा लागेको थियो । तर संक्रमण फैलँदै गएपछि समय थप हुँदै आएको छ । पछिल्ला दिनहरुमा केही गतिविधिहरु गर्न छुट छ । तर मानवीय चहल पहल भने ह्वात्तै बढेको छ ।

सरकारी विवरण अनुसार पछिल्लो समय चितवनमा संक्रमणमा केही कमी आएको देखिन्छ । चितवन स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार कुनै बेला अधिकतम ५४ प्रतिशतसम्म पुगेको संक्रमण दर (संकलित नमुनामध्ये संक्रमण पुष्टि हुने संख्या) लामो समयसम्म ४० प्रतिशतमा कायम थियो । पछिल्ला दिनहरुमा संक्रमण दर १५ प्रतिशतमा झरेको प्रमुख तिवारीले बताए ।

यसैगरी मृत्यु दर एक दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो लहरमा चितवनमा संक्रमितमध्ये २ प्रतिशतसम्मको मृत्यु भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । कार्यालयले बुधबार जारी गरेको विवरण अनुसार चितवनमा निको हुन बाँकी सक्रिय संक्रमितको संख्या एक हजार ४२९ छ । अघिल्लो हप्ता योभन्दा तीन सयजना धेरै थिए । चितवनमा जेठ १४ मा सक्रिय संक्रमितको संख्या सर्वाधिक चार हजार ९३५ थियो ।

त्यसैगरी बुधबार चितवनमा जिल्लाका दुईजनासहित तीनजना संक्रमितको मृत्यु भएको छ । बुधबार भरतपुरका विभिन्न अस्पतालहरुमा २५० जना संक्रमितको उपचार भइरहेको छ । जेठ चारमा अस्पतालमा सर्वाधिक ५३७ जना संक्रमित थिए । हाल पनि गम्भीर बिरामीको संख्या खासै नघटेको भरतपुर अस्पतालका अध्यक्ष रहेका चिकित्सक डा.भोजराज अधिकारीले बताए । भरतपुरका अस्पतालमा उपचारमा रहेको कुल संक्रमितमध्ये १०५ जना सघन उपचार कक्ष (आईसीयू) र ३० जना भेन्टिलेटरमा छन् । त्यसै गरी ४१ जना एचडियुमा छन् ।

चितवनका अस्पतालमा उपचारका लागि १४ जिल्लाबाट अत्याधिक बिरामी आउने गरेका छन् । कुनै अस्पतालमा ६५ जिल्लाका संक्रमितहरु पनि आएका छन् । स्वास्थ्य कार्यालयका अनुसार संक्रमणका कारण हालसम्म चितवनका २३३ जनाले ज्यान गुमाएका छन् । जेठ २८ सम्म जिल्ला बाहिरका थप ३५४ जना संक्रमितहरुले उपचारका क्रममा भरतपुरका विभिन्न अस्पतालमा ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २, २०७८ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?