काभ्रेमा एक साता थपियाे निषेधाज्ञा- वाग्मती - कान्तिपुर समाचार

काभ्रेमा एक साता थपियाे निषेधाज्ञा

प्रावधानहरु खुकुलो बनाइयो
नगेन्द्र अधिकारी

काभ्रे — जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी निषेधाज्ञा सात दिनको लागि थपेको छ । केही प्रावधानहरु खुुकुलो बनाउँदै असार ७ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याइएको हो ।

कोरोना संक्रमण तीव्र गतिमा वृद्धि भएको भन्दै जिल्लाभर जारी आदेश पाचौंपटक थप भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

वैशाख १९ गतेबाट २६ गते राति १२ बजे सम्मको लागि जारी निषेध आदेश पहिलोपटक जेठ २ गते राति १२ बजेसम्म र दोस्रोपटक जेठ १२ गते राति १२ सम्मको लागि थपिएको थियो । तेस्रोपटक जेठ २२ गतेसम्म लम्बिएको निषेधाज्ञा चौथोपटक थप गरी जेठ ३१ सम्म पुर्‍याइएको थियो । सोमबार राति १२ बजेबाट निषेधाज्ञा सकिने भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले ७ दिनको लागि थपेको हो ।

जारी निषेध आदेशमा बैंकहरुलाई लगाइँदै आएको आलोपालो प्रणाली खारेज गरिएको छ । अब सहकारी र रेमिटको कारोबार गर्ने संस्था पनि आइतबार र बिहीबार सञ्चालन हुन पाउनेछन् । बिमा समिति र बिमा कम्पनीलाई २० प्रतिशत जनशक्ति व्यवस्थापन गरेर सञ्चालन गर्न अनुमति दिइएको छ । खाद्यान्न, तरकारी, फलफूल लगायतका अत्यावश्यक खाद्यवस्तुका पसल यसअघि बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न दिइएको छ ।

हार्डवयेर, निर्माणजन्य सामाग्रीका पसल दिउँसो ३ बजेदेखि ७ बजेसम्म र पुस्तक पसल बिहान ११: ३० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरीमा असार ७ सम्म थपियो निषेधाज्ञा

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीमा जिल्ला प्रशासन कार्यालयले असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । असार १ गतेदेखि लागू हुने गरी असार ७ गते सोमबार मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । 

प्रजिअ ढकालले जिल्लामा जारी गरिएको पछिल्लो निषेधाज्ञा केही खुकुलो पारिएको बताए । उनका अनुसार तोकिएका पसलहरू स्वास्थ्य प्रोटोकल पुरा गरी व्यापार गर्न पाउने गरी निषेधाज्ञा केही खुकुलो पारिएको हो ।

उनले भने, ‘निषेधाज्ञामा खाद्यान्न पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष समेत गरी बिहान ५ बजेदेखि दिनको ११ बजेसम्म खुला गर्ने तर पसलमा भिडभाड हुन नदिने र पसल खोल्दा स्वास्थ्य मापदण्ड अनुसार मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने पूर्ण रूपले पालना गरेको हुनु पर्नेछ ।’

दूध डेरी तथा दुग्धजन्य पदार्थ, फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्वाध रूपले गर्न पाउने तर भिडभाड हुने सब्जी मन्डी, गुन्द्री बजार, हाट बजार लगायतका स्थानमा बिक्री वितरण गर्न पाइने छैन । पुस्तक तथा स्टेसनरी पसल स्वास्थ्य मापदण्ड अपनाइ बिहान ५ बजेदेखि दिनको ११ बजे सम्म खोल्न पाइनेछ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×