२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बालबालिकालाई संक्रमणबाट ‘जोगाउन’ पूर्वतयारी

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका आधारमा काभ्रेमा त्यसविरुद्धको पूर्वतयारी थालिएको छ ।

बालबालिकालाई संक्रमणबाट ‘जोगाउन’ पूर्वतयारी

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र मेथिनकोट अस्पताललगायतलाई बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन अनुरोध गर्ने निर्णय गरेको छ ।

‘तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने प्रक्षेपणका आधारमा तयारी थालेका हौं,’ केन्द्र संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलेले भने ।

सोहीअनुसार यहाँका अस्पतालहरूले पनि तयारी थालेको बताएका छन् । धुलिखेल अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. अनिश जोशीले सरकारी निर्णयको आधारमा बेड, उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको बताए । ‘सरकारले २० प्रतिशत बेड व्यवस्था गर्नेलगायतका अन्य तयारीका लागि भनेको छ, हामीले पनि सोहीअनुसार तयारी गरेका छौं,’ डा. जोशीले भने, ‘यद्यपि भनिएजस्तो आत्तिनुपर्ने स्थिति भने छैन ।’ उनले पेडियाट्रिक आईसीयू र निओनटल आईसीयूमा बेड तथा जनशक्ति र उपकरणहरू थपिएको जानकारी दिए ।

डा. जोशीले तेस्रो लहरमा बालबालिका बढी जोखिममा हुने प्रक्षेपण गरिए पनि त्यसको चित्तबुझ्दो आधार भने नभएको तर्क गरे । ‘भाइरसले उमेर समूह तोकेर आक्रमण गर्ने होइन, यसअघिका लहरमा पनि बालबालिकामा संक्रमण दर १० प्रतिशतभन्दा कम नै छ,’ उनले भने, ‘खोप नलगाएको कारण बालबालिकामा बढी संक्रमण हुन्छ भनिएको हुन सक्छ तर नेपालमा धेरै वयस्कहरूले पनि खोप लगाएका छैनन् ।

भीडभाड गर्ने, घुलमिल हुने समूह पनि वयस्क नै भएकाले उनीहरू पनि उत्तिकै जोखिममा छन् ।’ पहिलो लहरको तुलनामा दोस्रो लहरमा सबै उमेर समूहमा संक्रमण दर उच्च भएकाले बालबालिकामा पनि सो दर बढ्ने सक्ने उनले अनुमान गरे ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?