१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना उपचारमा पूर्वाधार थपिँदै

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लामा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य पूर्वाधार थपिँदै गएका छन् । सरकारी निकाय, विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा संक्रमितको उपचारका लागि आवश्यक भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य उपकरण जुटेको हो । 

कोरोना उपचारमा पूर्वाधार थपिँदै

चारवटा भेन्टिलेटरबाट संक्रमितको उपचार थालेको धुलिखेल अस्पतालमा अहिले ११ भेन्टिलेटर छन् । संघीय सरकारमार्फत प्राप्त चारवटा, आनी छोइङ डोल्मा फाउन्डेसन र प्रारम्भ नामक सामाजिक संस्थाले दिएको एउटा र अस्पतालमा रहेका अन्यसहित हाल ११ वटा भेन्टिलेटर सञ्चालनमा रहेको अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले जानकारी दिए । ‘थप उपकरणका लागि टेन्डरसमेत गरिएको छ,’ उनले भने । अस्पतालले ८ भेन्टिलेटर, ५० आईसीयू शय्या, ७/७ वटा बाइप्याप र सिप्याप मेसिनका लागि वैशाख १९ मा टेन्डर निकालेको थियो ।

संक्रमितको उपचारका लागि एउटा पनि भेन्टिलेटर नभएको बनेपास्थित शिर मेमोरियल अस्पतालमा प्रारम्भ र आनी छोइङ डोल्मा फाउन्डेसनले उपलब्ध गराएको भेन्टिलेटरमार्फत उपचार भइरहेको छ । ती संस्थाले धुलिखेल, शिर मेमोरियल र मेथिनकोट अस्पताललाई २/२ वटा हाइफ्लो अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेका थिए । यसबीचमा ३ भेन्टिलेटरसहित ९ शय्याको आईसीयू रहेको कोरोना डेडिकेटेड भोमी अस्पताल पनि सञ्चालनमा आएको छ ।

स्वास्थ्य कार्यालयका वरिष्ठ स्वाथ्य प्रशासक डा. नरेन्द्रकुमार झाले विभिन्न दाताहरूको सहयोगका कारण संक्रमितको उपचार सहज भएको बताए । ‘संक्रमितको उपचारका लागि अक्सिजनको उपलब्धता पहिलाको तुलनामा सहज भएको छ,’ डा. झाले भने, ‘सिलिन्डर भर्न समस्या पर्न सक्ने केही स्थानीय तहका लागि दाताहरूबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटरलगायतका उपकरणले निकै सजिलो भएको छ ।’ सोमबार काभ्रे सेवा समाज साउदी अरबले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई १२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको समाजका कोषाध्यक्ष अजयकुमार त्रिपाठीले जानकारी दिए ।

अक्सिजनको अभाव हुन नदिन जिल्लाका विभिन्न स्थानीय तहले अक्सिजन कन्सन्ट्रेटर जुटाएका छन् । पाँचखालमा ११ वटा, बनेपामा ८, धुलिखेलमा १०, पनौती र मण्डनदेउपुरमा ५/५, बेथानचोकमा २ र खानीखोलामा एउटा अक्सिजन कन्सन्ट्रेटर जुटेको छ । पाँचखाल र भुम्लु गाउँपालिकाले तथा नमोबुद्ध र रोशी गाउँपालिकाले संयुक्त रूपमा सञ्चालन गरेका आइसोलेसन सेन्टरमा २/२ वटा तथा चौरीदेउरालीस्थित धुसेनी शिवालय प्राथमिक अस्पतालमा एउटा अक्सिजन कन्सन्ट्रेटर सहयोग मिलेको छ ।

जिल्लाका अन्य स्थानीय तहले भने अक्सिजन सिलिन्डरको जोहो गरेका छन् । चौरीदेउराली, भुम्लु, महाभारत, तेमाललगायतलाई विभिन्न दाताहरूले अक्सिजनसहितको सिलिन्डर नै सहयोग गरेका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?