नीति तथा कार्यक्रममा एमाले एकजुट- वाग्मती - कान्तिपुर समाचार

नीति तथा कार्यक्रममा एमाले एकजुट

खनाल–नेपाल पक्षका सांसदको समर्थनपछि नीति तथा कार्यक्रम बहुमतले पास
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पास गर्न सत्तारूढ एमाले एकजुट भएको छ । प्रदेशसभामा एकल बहुमत रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार नीति तथा कार्यक्रम सदनबाट बहुमतसहित पास हुनेमा ढुक्क थिएन ।


सदनबाटै नीति तथा कार्यक्रम र बजेट पास गर्न सरकार पछिल्लो समय पार्टीको आन्तरिक विवादभन्दा माथि उठेर लचिलो हुँदै प्रस्तुत भइरहेको थियो । फलस्वरूप एमालेको असन्तुष्ट खनाल–नेपाल पक्षका सांसदले पनि समर्थन गरेसँगै नीति तथा कार्यक्रम बहुमतले पास भएको हो ।

प्रतिपक्षी दलहरू माओवादी केन्द्र, कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी नीति तथा कार्यक्रमको विपक्षमा उभिएका थिए । राप्रपाका दुई सांसद तटस्थ बसे । विपक्षी दलहरूले नीति तथा कार्यक्रम र बजेट फेल गराउनका लागि मोर्चाबन्दी गरिरहेको भए पनि एमाले एकजुट हुँदा त्यो असम्भव भएको हो ।

मुख्यमन्त्री पौडेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको यो चौथो नीति तथा कार्यक्रम हो । एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरूलाई निर्देशन दिएका थिए । प्रदेशमा हाल रहेको सभामुखसहित १०९ सांसदमध्ये ५६ जना एमालेका छन् ।

नीति तथा कार्यक्रममाथि प्रदेशसभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले सरकारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम नगर्ने आश्वस्त पारे । ‘संघीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले काम गरिरहेको छ,’ उनले प्रदेश सरकारले विगतमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर आगामी वर्षको बाटो तय गरेको बताए । उनले कोरोना नियन्त्रण, उपचार र आर्थिक सहायताका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तय गरिएको दाबी गरे । कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्बन्धित संस्थाहरूसँग छलफल भइरहेकाले खोपको सुनिश्चितताका लागि सरकार सक्रिय रहेको उनको भनाइ थियो । संघीय सरकारले अनुमति दिनेबित्तिकै प्रदेश सरकारले खोप खरिदको काम अघि बढाउने उनले बताए ।

प्रमुख प्रतिपक्ष दल माओवादीले उठाएको विद्युतीय बस र सुरुङ मार्गको विषयमा जवाफ दिँदै उनले प्रदेश सरकारले सुरुङ मार्ग निर्माण गरी इतिहास रच्ने दाबी गरे । ‘सुरुङ मार्ग निर्माणका लागि कुल लागत १८ अर्ब भनिए पनि हाल १६ अर्बमा सम्पन्न हुने देखिएको छ । त्यसका लागि संघीय सरकारको सहलगानीमा प्रदेश सरकारले बनाउने हो भने प्रदेश सरकारले ८ अर्ब व्यहोर्नुपर्छ । जुन ४ वर्षमा सम्पन्न हुँदा वार्षिक २ अर्ब बजेट विनियोजन हुने अवस्था छ,’ पौडेलले भने ।

वैद्यले मागे माफी

संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आत्मालोचनासहित माफी मागेका छन् । शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । चौतर्फी विरोधपश्चात् शनिबारको प्रदेशसभा बैठकमा उनले पार्टीको निर्देशनअनुसार आत्मालोचना गरेका हुन् ।

वैद्यको विवादास्पद अभिव्यक्तिको विरोधमा एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका थिए । हेटौंडामा एमालेनिकट युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका हुन् । उनीहरूले हेटौंडाको बुद्धचोक र प्रदेशसभा भवनअगाडि सांसद वैद्यको पुतलासमेत जलाएका थिए । एमाले कार्यकर्ताले आन्दोलन गरेसँगै प्रदेशसभा बैठक कडा सुरक्षाबीच बसेको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

भेरी–बबई डाइभर्सनले लिएन गति

कोभिड महामारीका कारण कामदार थोरै हुँदा आयोजना गतिहीन
चाँदनी कठायत

वीरेन्द्रनगर — कोरोना महामारीबीच राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम निरन्तर चले पनि तीव्र गतिमा हुन सकेको छैन । महामारीका कारण कामदारको संख्या घटेपछि कामले तीव्रता लिन नसकेको हो ।

महामारीका कारण धेरै कामदार घर फर्किएपछि अहिले स्थानीय मजदुरले मात्र काम गरिरहेका छन् । अहिले आयोजनाको दोस्रो चरणअन्तर्गत हेडवर्क्सको काम चलिरहेको छ । यसअघि २ सयभन्दा बढी कामदारले काम गरे पनि निषेधाज्ञाका कारण ४० जनामा सीमित हुनुपरेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर ईश्वरी तिवारीले बताए । ‘कोरोनाले गर्दा गत वर्ष पनि हाम्रो काममा बाधा पुगेको थियो,’ उनले भने, ‘अहिले पनि धेरैजसो कामदार घर गए, स्थानीय मजदुर पनि कोरोनाको डरले नियमित आउँदैनन् ।’

आयोजनामा केही दिनअघि रडको अभाव देखिएको उनको भनाइ छ । ‘अक्सिजन नभएका कारण रड काट्न पाइँदो रहेनछ,’ उनले भने, ‘तर अहिले सबै सामान छ, ढुवानीमा पनि कुनै समस्या छैन ।’ नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत पहिलो प्याकेजमा १२.२ किलोमिटर सुरुङ निर्माणको काम सकेको आयोजनाले भेरीगंगा नगरपालिकास्थित चिप्लेबाट दोस्रो प्याकेजको काम गरिरहेको छ । पहिलो चरणमा सुरुङ निर्माणको काम तोकिएको समयअघि नै सकिएपछि गत आर्थिक वर्षको साउनदेखि आयोजनाको दोस्रो चरणका काम थालिएका हुन् ।

अहिले दोस्रो चरणअन्तर्गत सिभिल संरचनातर्फका काम भइरहेका छन् । सिभिलअन्तर्गत पनि हेडवर्क्स, पावर हाउस (विद्युत् गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टका काम भइरहेको तिवारीले बताए । कामदार कम भएका कारण तीव्र गतिमा काम नभए पनि महामारीका कारण काम नरोकिएको उनले जानकारी दिए । आयोजनाका अनुसार हालसम्म पहिलो र दोस्रो चरण गरी समग्रमा ४३ प्रतिशत काम सकिएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×