१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सडकै ढाकेर तरकारी बिक्री

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका–६ माढीबजारका जयकुमार सापकोटा मंगलबार बिहानै सुरक्षा सावधानी अपनाएर बजार निस्किए । उनले निषेधाज्ञाअघि सिन्धुलीमाढीमा शनिबार लाग्ने झैं बजारमा व्यापारी र उपभोक्ताको भीड देखे ।

सडकै ढाकेर तरकारी बिक्री

कमलामाई नगरपालिका कार्यालयको १० मिटर पेरिफेरीमा स्टलबजार तलको सडक नै ढाकेर तरकारी, फलफूललगायत अन्य व्यापार व्यवसाय चलेको छ । ‘कोरोना महामारीको डर हराएको जस्तो भान भयो, व्यवसाय गर्नेहरूले सडक ढाकेका छन्, उपभोक्ताहरू तरकारीलगायत दैनिक उपभोग्य वस्तु खरिद गर्न तँछाडमछाड नै चलेको छ,’ उनले भने ।

साप्ताहिक लाग्ने शनिबारे हाटबजारमा दैनिक उपभोग्य वस्तु बिक्री गर्न नपाएर डेढ महिनादेखि खुम्चिएका खुद्रा व्यापारी र उपभाक्ताहरूको भीड लागेको भद्रकाली चियाबारीका सुजन मगरले सुनाए । गाउँगाउँबाट झारेको फर्सी, स्कुसका मुन्टा, निगुरो, गोलभेंडा, करेला, भ्यान्टा, जल्को, तोरीको सागलगायतले बजार ढाकेको थियो । ताजा तरकारी नपाएर हैरान भएको बेलामा गाउँबाट आएको हरियो सागसब्जीले उपभोक्ता भने दंग छन् ।

भीडभाड रोक्नका लागि नगर प्रहरी, प्रहरीहरू कसैले पनि पहल गरेका छैनन् । यसैगरी सडकै ढाकेर बजार लगाउँदै जाने हो भने निषेधाज्ञा गरी बन्द गर्नुको कुनै तुक नरहेको सदरमुकामका विग्रह कार्की बताउँछन् । भन्छन्, ‘गाउँमा निषेधाज्ञाको कुनै असर छैन, त्यहींबाट उत्पादन लिएर झरेकाहरूलाई सचेतना जगाएर दूरी कायम राख्न नलगाए भोलिका दिनमा संक्रमण फैलने खतरा रहन्छ ।’

भीडभाड गरेर व्यापार गर्दा कताबाट कोरोना भाइरस सर्छ पत्तै नपाइने हुनाले कन्ट्याक्ट ट्रेसिङमा समेत समस्या उत्पन्न हुने उनको धारणा छ । तराईबाट आएका माछादेखि खरबुजासम्मका व्यापारी र गाउँबाट स्थानीय उत्पादन लिएर झरेका कृषकहरू एउटै बजारमा भीडभाड गर्दा संक्रमणको खतरा निकै बढेको स्थानीय माधव देवकोटाले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?