सडकै ढाकेर तरकारी बिक्री- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकै ढाकेर तरकारी बिक्री

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका–६ माढीबजारका जयकुमार सापकोटा मंगलबार बिहानै सुरक्षा सावधानी अपनाएर बजार निस्किए । उनले निषेधाज्ञाअघि सिन्धुलीमाढीमा शनिबार लाग्ने झैं बजारमा व्यापारी र उपभोक्ताको भीड देखे ।

कमलामाई नगरपालिका कार्यालयको १० मिटर पेरिफेरीमा स्टलबजार तलको सडक नै ढाकेर तरकारी, फलफूललगायत अन्य व्यापार व्यवसाय चलेको छ । ‘कोरोना महामारीको डर हराएको जस्तो भान भयो, व्यवसाय गर्नेहरूले सडक ढाकेका छन्, उपभोक्ताहरू तरकारीलगायत दैनिक उपभोग्य वस्तु खरिद गर्न तँछाडमछाड नै चलेको छ,’ उनले भने ।

साप्ताहिक लाग्ने शनिबारे हाटबजारमा दैनिक उपभोग्य वस्तु बिक्री गर्न नपाएर डेढ महिनादेखि खुम्चिएका खुद्रा व्यापारी र उपभाक्ताहरूको भीड लागेको भद्रकाली चियाबारीका सुजन मगरले सुनाए । गाउँगाउँबाट झारेको फर्सी, स्कुसका मुन्टा, निगुरो, गोलभेंडा, करेला, भ्यान्टा, जल्को, तोरीको सागलगायतले बजार ढाकेको थियो । ताजा तरकारी नपाएर हैरान भएको बेलामा गाउँबाट आएको हरियो सागसब्जीले उपभोक्ता भने दंग छन् ।

भीडभाड रोक्नका लागि नगर प्रहरी, प्रहरीहरू कसैले पनि पहल गरेका छैनन् । यसैगरी सडकै ढाकेर बजार लगाउँदै जाने हो भने निषेधाज्ञा गरी बन्द गर्नुको कुनै तुक नरहेको सदरमुकामका विग्रह कार्की बताउँछन् । भन्छन्, ‘गाउँमा निषेधाज्ञाको कुनै असर छैन, त्यहींबाट उत्पादन लिएर झरेकाहरूलाई सचेतना जगाएर दूरी कायम राख्न नलगाए भोलिका दिनमा संक्रमण फैलने खतरा रहन्छ ।’

भीडभाड गरेर व्यापार गर्दा कताबाट कोरोना भाइरस सर्छ पत्तै नपाइने हुनाले कन्ट्याक्ट ट्रेसिङमा समेत समस्या उत्पन्न हुने उनको धारणा छ । तराईबाट आएका माछादेखि खरबुजासम्मका व्यापारी र गाउँबाट स्थानीय उत्पादन लिएर झरेका कृषकहरू एउटै बजारमा भीडभाड गर्दा संक्रमणको खतरा निकै बढेको स्थानीय माधव देवकोटाले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री ओलीलाई डा. केसीको पत्र : बी एन्ड सीलाई सम्बन्धन दिए सत्याग्रह सुरु गर्छु

'यदि चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न गैरन्यायिक संशोधन गरिएमा उक्त कदम तथा यहाँले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरुको विरुद्धमा अर्को चरणको सत्याग्रहको सुरुवात म नेपाल फर्कनेबितिक्कै थाल्ने चेतावनी दिन चाहन्छु।'
कान्तिपुर संवाददाता

काठमाडौँ — डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिन आग्रह गरेका छन् ।

पत्रमा केसीले बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाकेको पत्रमा उल्लेख गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, 'नेपाली नागरिकहरुले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेका छन्। तर स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो। खासमा यहाँले कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र लगाएर आम-नेपालीहरुको जीवन रक्षार्थ तथा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुरुप प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण गर्न लाग्नुपर्ने थियो।'

उनले अगाडि लेखेका छन्, 'आयोगको अध्यक्षको हैसियतले बी एन्ड सी मेडिकल कलेजका सञ्‍चालकलाई हाम्रा साथीहरु तथा आयोगका पदाधिकारीहरुलाई बारम्बार ज्यानको धम्की दिएबापत कारबाही गर्नुपर्ने थियो। तर यहाँले आफ्नो पदको दुरुपयोग गरी तिनै संचालकलाई पुरस्कृत गर्न उचित ठान्नुभयो। यस्तो लुटतान्त्रिक कार्य सभ्य समाजमा कदापि स्वीकार्य हुनेछैन।'

यस्तो छ केसीको पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपाल सरकार,

सिंहदरबार, काठमाडौँ।

विषय: ज्ञापन पत्र तथा ध्यानाकर्षण।

महोदय,

यहाँलाई स्मरण नै छ कि नेपाली नागरिकहरुको निरन्तरको प्रयासको फलस्वरूप चिकित्सा शिक्षा सुधारको ऐन निर्माण भई चिकित्सा शिक्षा आयोग गठन भएको छ जसले गर्दा सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा प्रत्येकले नेपाली नागरिकले समान पहुँच प्राप्त गर्न सफल हुनेछन्। तर विडम्बना यो छ कि सोही आयोगको अध्यक्षको हैसियतले यहाँले त्यसको मर्मको सम्मान गर्नुको सट्टा स्वास्थ्य माफियाहरुको हितको लागि त्यसलाई तोड्ने काम गर्दै हुनुहुन्छ।

मेरो जानकारीमा यो आएको छ कि यहाँले शुक्रबार जेठ २८ गते बि एण्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाक्नुभएको छ। नेपाली नागरिकहरुले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेका छन्। तर स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो।

खासमा यहाँले कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र लगाएर आम-नेपालीहरुको जीवन रक्षार्थ तथा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुरुप प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण गर्न लाग्नुपर्ने थियो। साथै, आयोगको अध्यक्षको हैसियतले बि एण्ड सी मेडिकल कलेजका संचालकलाई हाम्रा साथीहरु तथा आयोगका पदाधिकारीहरुलाई बारम्बार ज्यानको धम्की दिए वापत कारवाही गर्नुपर्ने थियो। तर यहाँले आफ्नो पदको दुरुपयोग गरी तिनै संचालकलाई पुरस्कृत गर्न उचित ठान्नुभयो। यस्तो लुटतान्त्रिक कार्य सभ्य समाजमा कदापि स्वीकार्य हुनेछैन।

हाल, म करिब २ महिनादेखि युद्धग्रस्त यमनमा स्वयंसेवा गरिरहेको छु। छ वर्षदेखि चलिरहेको गृहयुद्धले लाखौं नागरिकहरुको ज्यान लिइसक्यो, लाखौं घाइते भए, अनि लाखौं नागरिक विस्थापित भई अन्तराष्ट्रिय दातृ निकायहरुको सहयोगको भरमा बाँचिरहेका छन्। भोकमरी, कुपोषण तथा रोगले देश ग्रसित छ तर खासै अराजकता देखिदैन। तर नेपालमा त्यस्तो दयनीय अवस्था नभए पनि चरम अराजकता छ। यो सब यहाँको अहंकार तथा पद लोलुपताको फल हो जुन यो एकदम निन्दनीय छ। तसर्थ, आफ्नो कार्यहरुमा सुधार ल्याई आम नेपालीहरुको हितमा काम गर्नुहुनेछ र चिकित्सा शिक्षा ऐनको मर्मलाई अनुसरण गरी छिटो भन्दा छिटो त्यसको सफल कार्यन्वयनमा लाग्नुहुनेछ भन्ने कामना गर्दछु।

यदि चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न गैर-न्यायिक संशोधन गरिएमा उक्त कदम तथा यहाँले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरुको विरुद्धमा अर्को चरणको सत्याग्रहको शुरुवात म नेपाल फर्कन बितिक्कै थाल्ने चेतावनी दिन चाहन्छु। त्यसको लागि तयार रहनुहोला।

एक आम नागरिक,

डा. गोविन्द केसी

हाल शिहेन, यमन।

प्रकाशित : जेष्ठ २८, २०७८ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×