कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फोहोरलाई आकार दिँदै दम्पती

रमेशकुमार पौडेल

चितवन — संसारमा फोहोर र काम नलाग्ने भन्ने केही चिज नै छैन श्रीरेन्द्र पोखरेलका लागि । व्यवस्थापन गर्न नजानेर वा बेकार ठानेर मिल्काएको वस्तुलाई अरूले फोहोर भन्ने गरेको उनको व्याख्या छ ।

फोहोरलाई आकार दिँदै दम्पती

प्रधानाध्यापकबाट अवकाश पाएका पोखरेल अरूले बेकार ठान्ने गरेको फोहोरलाई उपयोगी आकार दिने सीपमा पोख्त छन् । सीप सिकाउँदै देशका ४५ जिल्ला पुगिसकेका छन् ।

कुरिनटारदेखि पुगनपुग ५ सय मिटरभित्र चुम्लिङटारमा बस्ने पोखरेल मायाटार विद्यालयका प्रअ थिए । स्कुल सकाएर घर आउँदा हातमा जहिल्यै फालिएका प्लास्टिक र बोतल हुन्थे । ‘घर ल्याएर धुन लगाउनु हुन्थ्यो । सुरुसुरुमा त अनौठो लाग्यो । एक–दुई पटक त मास्टर जस्तो मान्छे यस्ता चिज बोकेर नल्याउनू, देख्नेले पनि के भन्लान् भनेर रिसाएँ पनि,’ श्रीरेन्द्रकी श्रीमती संगीताले पुराना कुरा सुनाइन् । अहिले फोहोर ठानिएका वस्तुलाई नयाँ रूप दिन उनी श्रीमान्लाई सघाउँछिन् ।

श्रीरेन्द्र शौचालयको फोहोरलाई मल बनाउन १५ वर्षअघि नै अभियानमा जुटेका थिए । दिसापिसाब अलग–अलग संकलन हुने ‘इकोसान’ शौचालय बनाएर उनले मानव मलमूत्रलाई बिरुवाका लागि उपयोगी मल बनाउन थालेका थिए । ‘मानव मलमूत्र खास गरेर पिसाबमा बिरुवालाई चाहिने अत्यावश्यक खाद्य तत्त्व हुन्छ । केही प्रशोधनपछि पिसाबलाई मलमा परिणत गरेर बिरुवामा राख्न सकिन्छ,’ श्रीरेन्द्रले भने ।

घरको आँगनमा अलि फरक खालका बस्ने स्टुल र टेबलहरू छन् । गोलाकार टेबलको माथिल्लो खण्ड खेर जाने पुराना कपडाको छ । टेबलको स्ट्यान्ड पानीका बोतलहरूको छ । बोतललाई कडा बनाउन चाउचाउ र अन्य तयारी खाजाका झिलिमिली प्लास्टिक स–सानो टुक्रामा काटेर बोतलभित्र खाँदी खाँदी राखिएको छ ।

रिसाइकल गर्न गाह्रो, त्यसै फाले वातावरण प्रदूषण गर्ने र माटोलाई पनि हानि पुर्‍याउने यस्ता खोलहरू आफूले उपयोगी काममा लगाएको उनले बताए । भन्छन्, ‘बोतल र प्लास्टिकका खोललाई प्रशोधन गर्न सकिने प्रविधि पनि छन् । तर हामीले स्थानीय रूपमा त्यस्ता प्रविधि प्रयोग गर्न सकिन्न । महँगो छ । त्यसै फाल्न पनि भएन । भोलि प्रविधि सर्वसुलभ होला । तर त्यो बेलासम्म यस्ता प्लास्टिकलाई यसरी सुरक्षित राख्न सकियो नि !’

प्लास्टिकका बोराको रेसा र फाइबरको झोलाको अंशहरू मिलाएर माला बनाउने गरेका छन् । ‘यस्ता माला लगाउन पाउँदा धेरै जना दंग पर्नु हुन्छ । खेर जाने वस्तुबाट यति राम्रो सामान बनेको देखेर छक्कै पर्नु हुन्छ,’ संगीताले सुनाइन् । पोखरेल दम्पतीलाई यस्ता वस्तुहरू बनाउने तरिका सिकाउन पर्‍यो भनेर ठाउँ–ठाउँबाट तालिममा बोलाउने गरेका छन् । उनीहरू आफैंले त्यस्तो खास तालिम भने लिएका हैनन् । ‘घरकै वर्कसपमा यसो–उसो गर्दा सामानहरू तयार हुन्छन् । कहिलेकाहीँ कसैलाई सोध्छौं पनि । हामी पोख्त भएपछि अरूलाई पनि सिकाउँछौं,’ श्रीरेन्द्रले भने ।

उनीहरू आफैंले बनाएका सामानहरू बिक्री गरेर आम्दानी गर्ने उद्देश्य भने राखेका छैनन् । खेर जाने वस्तुबाट उपयोगी समान बनाउन सकिन्छ भन्ने सीप मात्रै फैलाउन चाहेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?