२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गैंडा मारेको आरोपमा खड्कबहादुर पक्राउ

रमेशकुमार पौडेल

चितवन — गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जसहितको टोलीले एकजनालाई पक्राउ गरेको छ । निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार नवलपरासी गैंडाकोट नगरपालिका–३ ढोडेनीका ३२ वर्षीय खड्कबहादुर गुरुङ मंगलबार पक्राउ परेका हुन् ।

गैंडा मारेको आरोपमा खड्कबहादुर पक्राउ

निकुञ्जको विशेष टोली, नेपाली सेना र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

गुरुङले निकुञ्जको पश्चिम क्षेत्र आइल्याणमा गत वर्षको भदौ १६ र १८ गते गैंडा मार्न हतियार उपलब्ध गराएको र आफैंले समेत गैंडालाई गोली हानेको अभियोग छ । उनी विरुद्ध गैंडा मार्ने अपराध सम्बन्धि नवलपुर (नवलपरासी बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतमा दुईवटा र चितवन जिल्ला अदालतमा एकवटा मुद्दा दायर भएको अधिकारीले जानकारी दिए ।

गुरुङको साथबाट बारुदका १२ वटा पोका, बन्दुकको बेरिङ १५ वटा, भरुवा बन्दुक बनाउने रडसमेत बरामद भएको उनले बताए । गैंडा मार्ने उद्देश्यले उनी ६ पटक निकुञ्ज छिरेको र कम्तिमा चारवटा गैंडा मार्ने काममा उनी संलग्न भएको निकुञ्जको अभियोगमा उल्लेख छ । उनी लुक्दै हिँडे पनि निकुञ्जले खोजी जारी राखेको थियो । चितवन निकुञ्जले चालू आर्थिक वर्षमा योसमेत गरेर गैंडा मुद्दामा २६ जनालाई पक्राउ गरेको छ ।

गैंडा मार्ने अभियोग लागेका केही व्यक्तिहरु फरार छन् । फरारमध्ये यो वर्ष चारजना गिरफ्तार भएको अधिकारीले बताए ।

गैंडा मारेमा १५ वर्षसम्म कैद, १० लाख रुपैयाँसम्म जरिवाना तथा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?