बीपी राजमार्गमा सवारीको लर्को

राजकुमार कार्की

सिन्धुली — जारी निषेधाज्ञालाइ अवज्ञा गर्दै बीपी राजमार्गमा सवारी चाप ह्वात्तै बढेको छ । संघीय राजधानीसँग जोड्ने छोटो दुरीको यो वैकल्पिक राजमार्गमा यात्रुवाहक सवारी निषेधाज्ञाको अवज्ञा गर्दै चल्न थालेपछि चाप बढेको हो ।

बीपी राजमार्गमा सवारीको लर्को

चेकिङमा रहेका प्रहरीकै मिलेमतोमा सयौं यात्रुबाहक सवारी साधनहरु आउने जाने गरेको व्यवासायीहरुले बताएका छन् । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमा मात्रै प्रहरीको ६ स्थानमा चेक प्वाइन्ट छ तर पास भएको यात्रुवाहक सवारी भन्दै रकम असुलेर छाड्ने गरिएको ती व्यवसायीहरुको आरोप छ ।

एक यातायात व्यवसायीले भने, ‘केहीलाइ कमाउको धन्दा भएको छ । कोरोना महामारी नै नभएको अवस्थामा जसरी सवारी साधन चलेका छन् ।’ निषेधाज्ञाको पालना गरेर यातायात व्यवसायीहरुले सवारी साधन थन्क्याएको अवस्थामा केहीले भने प्रहरीको मिलिभगतमा कमाउने अवसर बनाएको उनले बताए ।

प्रदेश नम्बर १ र २ का जिल्लाहरुबाट सवारी पास बनाएर यात्रुसहित राजधानीतर्फ जाने सवारीको चाप बढेको ट्राफिक प्रहरीको भनाइ छ । बिरामी, अत्यावश्यक काम देखाएर सवारी धनीले पास लिइ यात्रु बोकेर ओहोर दोहोर गरिरहेका छन् । तराईका जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, सप्तरी, मोरङ, सुनसरी, झापा जिल्लाबाट सवारी पास लिइ यात्रुवाहक हायस, बोलेरो, सुमो लगाएतका सवारी साधनहरु काठमाडौं जाने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको सवारी अनुमति लिएर यात्रुहरु ओसारेकाले बढी भाडा असुल्ने गरिएको छ । सवारी पासमा समेत चलखेल भएको कमलामाइ नगरपालिका ६ का उत्पल खड्काले बताएका छन् । भन्छन्, ‘एकादुइ पो अत्यावश्यक हुन्छ, सयौं सवारी साधनलाइ पास दिइ पठाइएकाले चलखेल भएको प्रष्टै हुन्छ ।’ खुला हुँदाको जस्तै सवारी ओहोर–दोहोर गर्दा संक्रमण बढ्ने खतरा रहेको छ । अनुमति नहुने सवारी साधनलाइ भने कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कुशहरी भण्डारी पास भएका यात्रुवाहक सवारीलाई नरोक्दा राजमार्गमा लर्को देखिएको बताउँछन् । राति चल्न रोक लगाएकाले बिहान छोड्दा एकैपटक यात्रुवाहक सवारीको ताँती देखिएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?