चितवनमा असार ३ गतेसम्म निषेधाज्ञा

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमण तीव्र भएसँगै वैशाख १६ गते मध्यरातबाट चितवनमा लागेको निषेधाज्ञा असार ३ गतेसम्म कायम रहने छ । तर अघिल्ला दिनहरुमा भन्दा आउँदो शुक्रबारबाट निषेधाज्ञा केही खुकुलो हुने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार जारी गरेको सूचनामा होटल तथा रेष्टुरेन्टबाट टेक अवे सेवा सञ्चालन गर्न पाइने उल्लेख छ । 

चितवनमा असार ३ गतेसम्म निषेधाज्ञा

पुस्तक पसलबाट विद्यालयसम्म पाठ्य पुस्तक पुर्‍याने गाडी पनि चल्न छुट हुने भएको छ । खाद्यन्न, तरकारी, माछा मासु, दाना, अण्डा, एग्रोभेट पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यन्न पसल हप्तामा तीन दिन बिहान ९ बजेसम्म मात्रै खुल्दथे । जनस्वास्थ्य मापदण्ड पालना गरी पाठ्य पुस्तक बेच्ने पसलहरु खोल्न पनि छुट भएको छ । अत्यावश्यक कामका लागि बैंकहरु पनि खुल्ने छन् ।

सुरुमा वैशाख मसान्त मध्यरातसम्म निषेधाज्ञा लागेको थियो । तर कोरोना नियन्त्रणमा नआएपछि समय थप हुँदै गएको हो । सरकारी विवरण अनुसार पछिल्लो समय चितवनमा संक्रमणमा केही कमी आएको देखिन्छ । चितवन स्वास्थ्य कार्यालयले बुधबार जारी गरेको विवरण अनुसार चितवनमा निको हुन बाँकी सक्रिय संक्रमितको संख्या एक हजार ७२९ छ । जेठ १४ मा सक्रिय संक्रमितको संख्या सर्वाधिक चार हजार ९३५ थियो ।

त्यसै गरी बुधबार चितवनमा जिल्लाका दुईजनासहित पाँचजनाको मृत्यु भएको छ । पछिल्लो समय चितवनमा जिल्लाका आठजनासहित उपचार गराउन भरतपुरका अस्पतालमा आएका संक्रमितहरुसमेत गर्दा एकै दिन २० जनासम्म संक्रमितको ज्यान गएको थियो । बुधबार भरतपुरका विभिन्न अस्पतालहरुमा ३१२ जना संक्रमितको उपचार भइरहेको छ । जेठ ४ मा सबैभन्दा धेरै अस्पतालमा ५३७ जना संक्रमित थिए । संक्रमणका कारण हालसम्म चितवनका २३३ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?