हेटौंडामा रोकियो कोभिड–१९ विरुद्धको खोप अभियान 

सुवास विडारी

हेटौंडा — हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज बुधबारबाट सञ्चालन गर्ने भनिएको कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ ।

हेटौंडामा रोकियो कोभिड–१९ विरुद्धको खोप अभियान 

उपमहानगरभित्रका ६२ वर्षदेखि ६४ वर्ष उमेरका नागरिकलाई भेरोसेल खोप लगाउने कार्यक्रम देशभर सञ्चालन भइरहँदा हेटौंडामा रोकिएको हो । बिहान १० बजेबाट खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको अवस्थामा मेयर हरिबोल महतले तत्काललाई खोप अभियान रोक्न निर्देशन दिएको कर्मचारीले बताएका छन् ।

हेटौंडाका १९ वटै वडामा खोपका लागि टोली परिचालन भइसकेको थियो । मेयर महतको आदेशमा खोप लगाउन रोकिएपछि स्वास्थ्यकर्मी, लक्षित वर्ग र वडाध्यक्षहरु पनि अन्योलमा परेका छन् ।

‘के कति कारणले रोकियो थाहा छैन । प्राविधिक कारण भनिएको छ । हामी छलफलमा जुट्दै छौँ,’ हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेले भने । खोप लगाउनका लागि ज्येष्ठ नागरिकहरु कागजपत्रसहित आएको अवस्थामा उनीहरूलाई जवाफ दिन सकस भइरहेको उनले बताए ।

हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले अर्को व्यवस्था नभएसम्मका लागि खोप अभियान रोक्नु भन्ने जानकारी आएका बताए । हेटौंडा उपमहानगरमा ३ हजार १ सय खोप आवश्यक रहेको छ ।

उपमहानगर स्रोतका अनुसार ६२–६४ वर्ष उमेर समूहलाई पुग्ने खोप जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त भएको छ । ‘सबै तोकिएको खोप केन्द्रमा भेरोसेल पुगिसकेको छ,’ चौलागाईंले भने ।

यस विषयमा मेयर महतसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । तर मेयरका प्रेस सल्लाहकार हरि हुमागाईंका अनुसार केही दिनमा सुरु गर्ने गरी खोप अभियान तत्काललाई रोकिएको हो । ‘सबै नागरिकले खोप लाउन पाउनुपर्छ । तत्काल ६० वर्षभन्दा माथिका नागरिकलाई लगाउनुपर्छ भनेर अभियान स्थगित गरिएको हुनसक्छ,’ हुमागाईंले भने ।

प्रकाशित : जेष्ठ २६, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?