१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निषेधाज्ञामा एकीकृत बस्ती धमाधम

स्थानान्तरण हुने अधिकांश परिवार चेपाङ समुदायका छन्
प्रताप विष्ट

मकवानपुर — निषेधाज्ञाको समयमा पनि मकवानपुरका दुई स्थानमा निर्माणाधीन एकीकृत बस्तीको काम रोकिएको छैन । स्वास्थ्य सावधानी अपनाउँदै एकीकृत बस्तीका भवनहरू निर्माण गरिरहेका छन् । रुघाखोकी लागेका, ज्वरो आएका अर्थात् कोरोनाको जस्तो लक्षण देखिएकाहरू बस्तीका भवन निर्माणमा आउँदैनन् ।

निषेधाज्ञामा एकीकृत बस्ती धमाधम

कोरोना निको भएर २ जना बस्तीको भवन निर्माणमा जुटिरहेका छन् । कोरोना नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि एकीकृत बस्तीको निर्माणको कार्य नरोकिएको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) मकवानपुरका इन्जिनियर रवीन पाठकले बताए । ‘तोकिएको समयमा नै एकीकृत बस्तीका भवनहरू तयार हुनेछ,’ उनले भने । मकवानपुरको कैलाश गाउँपालिका र मनहरी गाउँपालिकामा एकीकृत बस्ती निर्माण भइरहेको छ ।

कैलाश गाउँपालिका—१० बलमटारमा १० घर एकीकृत बस्ती निर्माण भइरहेको हो । भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) मकवानपुरले कैलाश गाउँपालिका–१० म्यानसेदुङको १० घरपरिवारलाई स्थानान्तरण गरेर राख्नका लागि बलमटारमा एकीकृत बस्ती निर्माण गरेको इन्जिनियर रवीन पाठकले बताए ।

म्यानसेदुङका बस्तीमा दुवैतिर पहिरोको जोखिम र वर्षायाममा खोला तरेर बस्तीमा जान पनि समस्या भएकाले उक्त बस्तीका १० घरलाई बलमटारमा स्थानान्तरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष टंकबहादुर मोक्तानले बताए । स्थानान्तरण हुने अधिकांश परिवार चेपाङ समुदायका छन् । यसैगरी मनहरी गाउँपालिका–६ जोगीतालमा पनि एकीकृत बस्तीको निर्माण कार्य भइरहेको छ । उक्त स्थानमा पनि १० वटा घर निर्माणाधीन अवस्थामा छन् । भूकम्पले गर्दा बस्न जोखिम क्षेत्रका राक्सिराङ गाउँपालिकाका १० घरलाई उक्त स्थानमा स्थानान्तरण गर्न लागेको हो ।

कैलाश र मनहरी गाउँपालिकामा निर्माणाधीन एकीकृत बस्तीको काम पनि अन्तिम चरणमा पुगेको इन्जिनियर पाठकले बताए । ‘असार मसान्तसम्म एकीकृत बस्तीका सबै काम सम्पन्न भएर लाभग्राहीहरूलाई घर हस्तान्तरण गर्ने लक्ष्य लिएका छौं’ उनले भने । एकीकृत बस्तीका लागि सरकारले जग्गा खरिद गर्न प्रतिघरलाई २ लाख र घर निर्माण गर्न ३ लाख रुपैयाँ उपलब्ध गराएको छ । कैलाशको र मनहरीको एकीकृत बस्तीको पूर्वाधार विकासका लागि ४०/४० लाख रुपैयाँ भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) मकवानपुरले उपलब्ध गराएको इन्जिनियर रवीन पाठकले बताए । उक्त रकमबाट बस्तीमा खानेपानी, बिजुली, पर्खाल, बगैंचा, सामुदायिक भवन र हरित क्षेत्र बनाइने जनाएको छ ।

२०७२ मा गएको भूकम्पले पीडित र बसोबासका लागि जमिन असुरक्षित भएसँगै उनीहरूलाई सुरक्षित बस्ती स्थानान्तरण गर्न लागिएको हो । एकीकृत बस्ती निर्माणमा बस्नेहरू भने अहिले भाडाको घरमा र केही पुरानै जोखिमयुक्त घरमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?