कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भूकम्पपीडितले रुचाएनन् ‘नमुना बस्ती’

जस्ताको छानो राखिएको छ तर झ्यालढोका ह्वाङ्गै छन् 
रमेशकुमार पौडेल

चितवन — भूकम्पपीडितका लागि बनाएको ‘नमुना बस्ती’ मा घर तयार छन् तर कोही बसेका छैनन् । चितवनको उत्तरी पहाडी बस्ती राप्ती नगरपालिका–१३ को चेपाङ गाउँ लोथरको यासिकाईमा २०७२ को भूकम्पले बस्नै नमिल्ने गरेर जमिन चिरा पारेको थियो ।

भूकम्पपीडितले रुचाएनन् ‘नमुना बस्ती’

त्यहाँ रहेका १३ घरपरिवारलाई सुरक्षित ठाउँमा राख्न राप्ती–१३ कै कालीटारमा जमिन किनेर घर बनाइए पनि यासिकाईका बासिन्दा ती घरमा भेटिँदैनन् ।

टाढाबाट हेर्दा विद्यालय भवनजस्तो देखिने ‘नमुना बस्ती’ नजिक गएर हेर्दा अधुरै देखिन्छन् । जस्ताको छानो राखिएको छ तर झ्यालढोका ह्वाङ्गै छन् । घर अगाडि बालुवा र काठ असरल्ल छन् । कुनै घरभित्र एक मान्छे बराबरको गहिरो खाल्डो छ । ‘घरहरू बने तर केही काम अधुरै छ । मान्छेहरू आएर बसे त हुने हो । तर खोइ किन हो आएका छैनन्’ आडैमा घर भएका शिवलाल चेपाङले भने । यासिकाईका सबै १३ घर भूकम्पले भत्काएको थियो । एक जनाको ज्यान नै गएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरूले त्यो ठाउँलाई जोखिममा परेको बस्ती निर्क्योल गरेका थिए । त्यस्तो ठाउँमा घर बनाएर बस्न मिल्दैन । उनीहरूलाई राख्न सुरक्षित ठाउँ खोजी हुँदा कालीटारमा जग्गा फेला परेको थियो । एउटा घरका लागि १० धुरका दरले जग्गा उपलब्ध गराइएको छ । दुई लाख रुपैयाँका दरले जग्गा खरिद भएको हो ।

यसका लागि २६ लाख रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको हो । तीन वर्षअघि २०७५ वैशाख १३ गते जग्गाको लालपुर्जा वितरण गरिएको थियो । त्यो बेला बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ चितवन कार्यालयका तत्कालीन शाखा प्रमुख राजेन्द्र कार्कीले पाँच महिनाभित्र त्यो जग्गामा घरहरू बनेर मान्छे बस्न सुरु हुने बताएका थिए । तर घरहरू बन्नै समय लाग्यो । ‘घरहरू बनेको एक साल भयो । तर उहाँहरूको माग पाली बनाइदिन पर्‍यो, प्लास्टर गर्दिन पर्‍यो भन्ने छ ।’ राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्यबहादर चेपाङले भने ।

यासिकाई लोथरको लेकमा भएको बस्ती हो । त्यहाँबाट झन्डै तीन घण्टा पैदल दूरीमा रहेको खोला आडको कालीटारमा उनीहरूलाई राख्न जग्गा किनेर घर बनाइएको हो । खेती गर्न मिल्ने ठाउँ छैन । पुरानो ठाउँमा खेती गरे आउजाउमै दिन कट्छ । त्यसैले त्यहाँका मान्छे तल झर्न इच्छुक नभएका हुन् कि भन्ने वडाध्यक्ष सूर्यबहादुर चेपाङलाई लागेको छ । घर बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

‘जग्गा किनेपछि त्यो जग्गामा सम्बन्धित लाभग्राहीले नै घर बनाउनुपर्ने हुन्छ । यसका लागि प्राधिकरणले अरूलाई जसरी तीन लाख रुपैयाँ उपलब्ध गराउँछ’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ चितवन शाखाका इन्जिनियर सुजन नेपालले भने । प्राधिकरणले काम सुरु गर्न ५० हजार रुपैयाँ दिन्छ । त्यसपछि १ लाख ५० हजार रुपैयाँ र काम सम्पन्न भएपछि अन्तिममा एक लाख रुपैयाँ भुक्तानी दिन्छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?