आउँदैनन् अन्य बिरामी

टीकाप्रसाद भट्ट

रामेछाप — कोरोनाको दोस्रो लहरअघि दीर्घरोगी, मौसमी रुघाखोकी, स्त्री रोगलगायतका स्वास्थ्य समस्या लिएर आउने बिरामीले अस्पताल भरिभराउ हुन्थ्यो । तर पछिल्लो समय त्यस्ता समस्या लिएर आउने बिरामी विरलै छन् ।

आउँदैनन् अन्य बिरामी

रामेछाप जिल्ला अस्पतालमा शुक्रबार साँझसम्म १८ जना बिरामी भर्ना छन् । उनीहरू सबै कोरोना संक्रमित हुन् । ‘अन्य बिरामी आक्कलझुक्कल आउँछन्,’ स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कर्ण भन्छन्, ‘कोरोनाका बिरामी छन् भनेरै अरू सामान्य प्रकृतिका बिरामी डराएर अस्पताल आउन छोडेको हुनुपर्छ ।’

मन्थलीस्थित तामाकोसी अस्पतालमा कोरोना महामारीअघि दिनमा सरदर सय जना बिरामी स्वास्थ्य परीक्षणका लागि आउँथे । अस्पताल निर्देशक डा. सुमन कर्माचार्यले हिजोआज उक्त संख्या २०–२५ मा झरेको बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका र संक्रमण पुष्टि भएर भर्ना हुन आउनेको संख्या भने उल्लेख्य रहेको उनले बताए । ‘एक त निषेधज्ञाको कारण यातायात असुविधा भएर बिरामी आउन नसकेका होलान्,’ उनले भने, ‘अर्को संक्रमणको डर पनि अलिअलि होला ।’ उनका अनुसार गर्भवती महिलाहरू गर्भ परीक्षण र सुत्केरी हुने समय नाघिसक्दा पनि अस्पताल जाने गरेका छैनन् ।

रामेछापमा हुने दुर्घटनाजन्य घटनामा घाइते भएका र शल्यक्रिया गर्नुपर्ने समस्याका बिरामीलाई काठमाडौं लैजानुपर्ने बाध्यता छ । जिल्लामा हालसम्म शल्यक्रियाको सुविधा छैन । मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा पनि चिकित्सक नहुँदा बन्द भएको महिनौं भइसकेको छ ।

प्रकाशित : जेष्ठ २२, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?