२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दाताकै भरमा चलेको कोभिड अस्पताल

राजकुमार कार्की

सिन्धुली — भवन तथा अस्पताललाई चाहिने सामग्रीसहित करिब ३ करोड ५० लाख रुपैयाँ लागतमा सञ्चालनमा आएको कोभिड–१९ अस्पताललाई सहयोग जुट्ने क्रम जारी छ ।

दाताकै भरमा चलेको कोभिड अस्पताल

जेनेरेटर, फर्निचर, सञ्चार उपकरण, स्वास्थ्य सामग्री, बिरामीलाई खाजा, दूधलगायतका राहत सामग्रीसमेत दाताहरूबाट प्रबन्ध गरिएको छ । सिन्धुली घर भई काठमाडौंमा बस्ने उज्ज्वलविक्रम थापाले कोभिड अस्पतालमा रहेका बिरामीका लागि एक महिनासम्म दैनिक १० लिटर दूध उपलव्ध गराउन मंगलबार २४ हजार रुपैयाँ उपलब्ध गराएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिए ।

एसिड पीडित सहयोग अभियन्तासमेत रहेका थापाले यसअघि अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका थिए । थापाले डेढ लाख रुपैयाँ खर्चिएर बिरामीको लुगा धुनका लागि दुई थान वासिङ मेसिनसमेत सहयोग गरेका छन् । अक्सिजन प्लान्ट चौबिसै घण्टा सञ्चालनका लागि अग्नि ग्रुपले एक सय केभीए क्षमता भएको जेनेरेटर सहयोग गरेको छ । विद्युत् सप्लाई बन्द हुँदा अक्सिजन प्लान्टबाट उत्पादन बन्द हुने गरेकोमा अग्निका उद्धब राउतले जेनेरेटर हस्तान्तरण गरेका हुन् ।

कोभिड अस्पतालका लागि सरकारको मात्र मुख ताकेको भए निर्माण नै नहुने अध्यक्ष पोखरेलको भनाइ छ । भन्छन्, ‘प्रदेश सरकारबाट एक करोड रुपैयाँ सहयोग आएको थियो । ९ वटै पालिकाहरू, संघसंस्था, व्यवसायी, समाजसेवी, दातालगायत सबैको सहयोगमा नगद तथा जिन्सी सामानको जोहो गरी साढे ३ करोड रुपैयाँ जोहो गरेर अस्पताल सञ्चालनमा आएको छ । कोभिड अस्पतालका लागि भनेर छुट्टै सरकारी बजेट नहुने भएकाले दाताकै भर पर्नुपरेको अध्यक्ष पोखरेल बताउँछन् ।

मानव जीवन रक्षार्थ भनेर स्वाब राख्नका लागि सहयोगी युवाहरूको टोलीले भर्खरै अस्पताललाई २४ हजार रुपैयाँको फ्रिज प्रदान गरेको उनले जानकारी दिए । कोभिड महामारीको तेस्रो लहरको समेत चर्चा भइरहेकाले अस्पताल सञ्चालनका लागि सरकारले जिम्मा लिएर बजेटमै समावेश गर्न अध्यक्ष पोखरेलले अनुरोध गरेका छन् । सिन्धुली अस्पताल मातहतमा राखी कोभिड अस्पताललाई युनिट बनाइएको छ । तर अस्पतालसँग कोभिड युनिट धान्ने बजेट छैन ।

अध्यक्ष पोखरेल बजेट अभावमा हारगुहार गर्नुपरेको दुःखेसो पोख्छन् । बिरामीको अनुपातमा दक्ष चिकित्सकसहितका स्वास्थ्यकर्मीको खाँचो रहेको उनले औंल्याए । कोभिड अस्पतालमा आईसीयू ३, एचडीयू २२ र नर्मल २५ गरी ५० बेड छन् । ती सबै सहयोगमै जुटेको हो । अस्पतालमा २२ जना संक्रमितको उपचार भइरहेको छ ।

निषेधाज्ञामा धार्मिक र सामाजिक काम

रामेछाप– रामेछापका विभिन्न भागमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गर्दै बाक्लो उपस्थितिमा धार्मिक तथा सामाजिक काम भइरहेका छन् । ‘बाक्लो उपस्थितिमा गाउँ–गाउँमा कुल पूजा भइरहेका छन् भने स्थानीयले हाम्रो गाउँमा केही छैन भन्दै धार्मिक कार्य गरिरहँदा संक्रमण फैलने त्रास छ,’ कांग्रेस जिल्ला सचिव लेखबहादुर कार्की भन्छन्, ‘संक्रमण ख्यालख्यालमै गाउँ पसेको छ ।’

जिल्लाका धेरै ग्रामीण क्षेत्रमा ज्वरो, रुघाखोकीजस्ता कोरोनासँग मिल्दो लक्षण भएका बिरामी धेरै छन् । विवाह, व्रतबन्धलगायतका गतिविधिमा भीडभाड हुँदा संक्रमण टोलटोलमा फैलिएको हो । जिल्लाको लिखु तामाकोसी, दोरम्बा, उमाकुण्ड गाउँपालिका र मन्थली तथा रामेछाप नगरपालिकामा संक्रमण दर उच्च छ । जिल्लामा परीक्षण गराएका संक्रमित ५ सयको हाराहारीमा छन् ।् सयौं बिरामी घरघरमै सामान्य औषधिको भरमा थला परेको कार्कीले बताए । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु सूचना जारी गरेपछि त्यसको पालना गर्ने दायित्व सबै नागरिकको भएको बताउँछन् । ‘पहिले त आफैं जानेर सजग हुने हो,’ सैजुले भने ।

प्रकाशित : जेष्ठ १२, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?