प्रतिबन्धका बेला माछा मार्न खोलामा

रमेशकुमार पौडेल

चितवन — निषेधाज्ञाको समयमा चितवन राष्ट्रिय निकुञ्जको सिमाना भएर बग्ने नदी र खोलामा माछा मार्नेहरू बढेका छन् । निकुञ्ज कार्यालयले आइतबार राति लुकिछिपी माछा मारिरहेका २४ जनालाई नारायणी नदीको भगेडीबाट पक्राउ गरेको छ । 

प्रतिबन्धका बेला माछा मार्न खोलामा

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार उनीहरूका साथबाट एउटा बोलेरो जिप, दुईवटा स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद भएको छ । निकुञ्ज हुँदै बग्ने खोलानालामा माछा मार्न खुला भएका बेला पनि तियारी जाल प्रयोग गर्न पाइँदैन ।

‘निकुञ्ज र नेपाली सेनाको गस्ती टोलीले आइतबार मध्यराति उनीहरूलाई समाएको हो,’ सूचना अधिकारी लोकेन्द्र अधिकारीले भने । निकुञ्ज सिमाना हुँदै बग्ने नदी र खोलामा माछा मार्न निकुञ्जले जारी गर्ने अनुमतिपत्र अनिवार्य हुनुपर्छ । अनुमतिपत्र लिएका व्यक्तिले पनि वैशाख, जेठ र असार महिनामा माछा मार्न पाउँदैनन् ।

‘चैतपछि माछाको प्रजनन याम सुरु हुन्छ । अण्डा पार्ने, बच्चा हुर्काउने बेला भएका कारण यो बेला हामीले माछा मार्न रोक लगाएका हुन्छौं । तर यही समयमा लाइसेन्स पनि नभएका व्यक्तिहरूले अन्धाधुन्ध माछा मारेको पाइयो,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने । निकुञ्जमा माछा मार्ने अनुमति पाएका बोटे माझी २ सय ३ जना छन् । तर माछा मार्न यसभन्दा कयौं गुणा बढी व्यक्ति खोला छिर्ने गर्छन् ।

निषेधाज्ञा जारी रहे पनि मानिसहरु बेवास्ता गरी खोला र निकुञ्ज छिर्ने गरेका छन् । वैशाख ३० गते चितवन निकुञ्जभित्र च्याउ टिप्न गएका पर्सा ठोरीका ६० वर्षीय गोविन्दबहादुर राउतको जंगली हात्तीले आक्रमण गर्दा ज्यान गयो । चितवन निकुञ्जको मध्यवर्ती उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना अघिल्लो वर्ष लकडाउनकै समयमा पटिहानी क्षेत्रमा जंगल गएका दुई जनालाई बाघले आक्रमण गरेर ज्यान लिएको बताउँछन् । कारबाही मात्र होइन, ज्यानै जोखिममा पर्ने खतरा भए पनि मान्छे जंगल छिरिरहेका छन् ।

‘बोटे समुदायको कुरा गर्नु हुन्छ भने यस बेला ज्याला मजदुरी गर्ने ठाउँ पनि छैन । सरकारले कुनै पनि राहत दिएको छैन । मान्छे घरमै बसेपछि लुकीछिपी जंगल र खोलामा पस्ने गर्दछन्,’ पटिहानीकी बासिन्दा नेपाल बोटे समाज महिला विभागकी संयोजक बिना बोटेले भनिन् । बोटेले थोरै साग–निउरो टिपे पनि यो बेला नियम नै मिचेर ठूलो मात्रामा माछा भने नमारेको उनले बताइन् ।

निकुञ्जले घाँसे मैदान व्यवस्थापनको काम दिए पनि ज्याला भुक्तान नपर्दा समस्या परेको बताइन् । तर नियम मिचेर पटक पटक माछा मारेको आरोप लगाउँदै निकुञ्जले केही बोटेलाई २० हजार रुपैयाँसम्म जरिवाना गरेको उनको भनाइ छ ।

‘माछा मार्ने लाइसेन्स बोटेहरूसँग छ । हामीले नियम पालना नै गरेका हुन्छौं । तर यो बेलामा अरूले बिगारेका छन् । कहिलेकाहीँ बोटेहरूले माछा मारे भने उपाए नभए पनि २० हजार तिर्नुपरेको छ । समस्याका बेलामा झनै संकट छ,’ बिनाले भनिन् ।

सहायक संरक्षण अधिकृत अधिकारीका अनुसार निषेधाज्ञाका बेला माछा मार्ने र निउरो टिप्नेको चाप बढेको छ । चितवनमा निषेधाज्ञा लागेको समय बैशाख १६ यता माछा मारेको आरोपमा ४२ जना समातिएका छन् । निउरो, टिप्ने घाँस काट्ने २३ जनालाई कारबाही भएको अधिकारीले जानकारी दिए । ‘पाँच सय रुपैयाँ जरिवाना लिएर ठाडो कारबाही गर्दै छाड्थ्यौं । अब नपुग्ने भएको छ । निकुञ्ज ऐनअनुसार नै मुद्दा दायर गर्न थालेका छौं,’ अधिकारीले भने ।

नियम मिचेर माछा मार्नेहरूलाई अन्य जनावर मारेसरह र निकुञ्ज प्रवेश गरेको कसुरमा थप कारवाही हुने गरी मुद्दा चलाइने उनले बताए । यसमा १० हजार रुपैयाँ जरिवाना र ६ महिना कैद हुने कानुनी व्यवस्था छ । निकुञ्ज भएर बग्ने नदी र खोलामा दुर्लभ घडियाल गोही पाइन्छ । घडियालको मुख्य आहारा माछा हो । घडियाल जोगाउन पनि माछा बचाउन आवश्यक भएको निकुञ्जका अधिकारीहरू बताउँछन् ।

प्रकाशित : जेष्ठ ११, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?