सबै पालिकामा आइसोलेसन

प्रदेश ब्युरो

हेटौंडा — कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि प्रदेशका विभिन्न जिल्लामा स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छन् । तर अधिकांश खाली छन् ।

सबै पालिकामा आइसोलेसन

मकवानपुरका १० वटै पालिकाले आइसोलेसन बनाएका छन् । वाग्मती गाउँपालिकाले बनाएको १० बेडको अक्सिजनसहितको आइसोलेसनमा ९ जना उपचाररत छन् । मनहरीले २५ बेडको कोभिड अस्पताल नै सञ्चालन गरेको छ । त्यहाँ अक्सिजनसहितका १० बेड छन् ।

बकैया र मकवानपुरगढीले पनि १०/१० बेडको अक्सिजनसहितको आइसोलेसन बनाएका छन् । हेटौंडा उपमहानगरले सञ्चालन गरेको १२० बेडको आइसोलेसनमा ३४ संक्रमित छन् । थाहामा २० बेड, राक्सिराङमा २६, कैलाशमा १० र भीमफेदीमा २५ बेडको आइसोलेसन छ । मकवानपुरमा शुक्रबारसम्म १ हजार ९३५ सक्रिय संक्रमित रहेकोमा १ हजार ५०२ जना घरमै स्वास्थ्य कार्यालय प्रमुख प्रणय उपाध्यायले बताए ।

सिन्धुलीको दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकामा पहिलो पटक अक्सिजनसहितको आइसोलेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको छ । दुधौली–५ स्थित सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेड तथा तीनपाटन–१ को बेलघारी स्वास्थ्य केन्द्र र वडा–११ को लाम्पन्टारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ५/५ बेडको आइसोलेसन बनाइएको छ । सिर्थौलीमा ३ संक्रमितको उपचार भइरहेको छ । जिल्लाका ९ पालिकामध्ये ६ वटाका आइसोलेसनमा अक्सिजन सुविधा छैन । कमलामाई–६ शिवनगरमा अक्सिजनसहित ४७ बेडको कोभिड अस्पताल सञ्चालनमा छ ।

सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहरबाट हालसम्म ६ जनाले ज्यान गुमाएका छन् । ६०५ जना सक्रिय संक्रमित छन् । संक्रमितको संख्या दिनहुँ बढ्दै गए पनि जिल्लामा आईसीयू र भेन्टिलेटरको सुविधा छैन । समयमै उचित उपचार, भेन्टिलेटर र आईसीयू सुविधा नपाउँदा यसअघि केही संक्रमितले ज्यान गुमाएका थिए । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले आइसोलेसन निर्माण, कन्ट्रयाक्ट ट्रेसिङ र शंकास्पदको स्वाब संकलनमा तीव्रता दिइएको बताए । ‘जिल्लाभर अक्सिजनसहित ८८ आइसोलेसन बेड तयारी अवस्थामा छन्,’ उनले भने ।

जिल्ला समन्वय समितिमा ९ बेड, फिल्ड ट्रेनिङमा १२, जुगल गाउँपालिकाको बराम्चीस्थित रत्नराज्य माविमा २०, सिन्धुसदावहार अस्पतालमा २५, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा १२ र मेलम्चीमा १० बेडको आइसोलेसन बनाइएको उनले बताए ।

हेलम्बु, त्रिपुरासुन्दरी, सुनकोसी, लिशंखुपाखर र भोटेकोसी गाउँपालिकाले चिकित्सकसहितको आइसोलेसन सञ्चालनमा ल्याएका छन् । भोटेकोसीले तीनवटा एम्बुलेन्स, अक्सिजन र चिकित्सकसहित दुगुना, फुल्पिङकट्टी र चाकुमा गरी २३ बेडको आइसोलेसन बनाएको छ । त्यस्तै, हेलम्बु र इन्द्रावतीले बनाएको आइसोलेसनमा २०/२० बेड छन् । पालिकाहरूमा बनेका आइसोलेसनमा अहिले १४ संक्रमित मात्रै छन् । बाँकी घरमै र जिल्लाबाहिर छन् ।

प्रकाशित : जेष्ठ १, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?