कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चितवनमा जेठ १३ सम्म लम्बियो निषेधाज्ञा

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै चितवनमा लागेको निषेधाज्ञा जेठ १३ सम्म लम्बिएको छ । चितवनमा वैशाख १६ गते मध्यरातदेखि वैशाख ३१ गते मध्येरातसम्म निषेधाज्ञा जारी भएको थियो । बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार केही कडाइका साथ निषेधाज्ञा जेठ १३ सम्म लम्बिएको छ ।

चितवनमा जेठ १३ सम्म लम्बियो निषेधाज्ञा

विवाह, व्रतबन्ध जस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न बन्देज लागेको छ । घरबाट गर्दा पनि १० जनाभन्दा बढी सहभागी नहुन र तोकिएका स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न भनिएको छ । यसअघि १५ जनासम्म सहभागी हुन छुट थियो । मृत्यु संस्कारमा १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन । मलामी जाने गाडी उपयोग गर्दा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । लामो तथा छोटो दूरीका गाडीहरु र निजी गाडी चलाउन रोक लगाइएको छ ।

पसल सञ्चालनमा केही खुकुलो गरिएको छ । खाद्य सामाग्री, तरकारी, फलफूल, दूध डेरी, ग्यास पसल, पेट्रोल पम्पहरु हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने छन् । यी बाहेकका अत्यावश्यक व्यवसायका पसलहरु हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने छन् । यसका साथै स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, इन्टरनेट सेवा, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास तथा पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, खाद्यान्न, दुग्ध पदार्थ, औषधि, पशुपंक्षीको दाना, माछा, मासु, अण्डा, पानी सम्बन्धी सेवाहरु पनि सञ्चालन गर्न रोक लगाइने छैन ।

उद्योग कलकारखाना सर्तसहित खोल्न स्वीकृति दिइने छ । आदेश अनुसार अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर निस्कन पाउने छैनन् । निस्कन आवश्यक पर्नेहरुले पनि मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने छ । सवै खाले सभा, सम्मेलन, गोष्ठी सेमिनार गर्न रोक लगाइएको छ । जात्राहरु र महोत्सवहरु पनि गर्न पाइने छैन ।

सिनेमा हल, पार्टी प्यालेस, दोहरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, संग्राहालय, फिटनेस सेन्टर, जीमखाना, हेल्थ क्लब, स्पा, ब्युटीपार्लर, सैलुन, टेलर, स्वीमिङपुल, फुटपाथ पसल पनि सञ्चालन गर्न नपाइने भएको छ । विश्वविद्यालय, क्याम्पस र विद्यालयमा भौतिक रुपमा उपस्थित भएर परीक्षा, पठन पाठन र अन्य शैक्षिक गतिविधि पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।

मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिकस्थलमा दैनिक नित्य पूजा बाहेक अन्य जमघट गर्न पनि पाइने छैन । यसैगरी डीसीसीएमसी चितवनको बैठकले चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा हुने सबै खाले जंगल सफारी तथा नारायणी र राप्ती नदीमा हुने जलयात्रामा पनि रोक लगाएको छ । अत्यावश्यक सेवा दिने कार्यालय बाहेक अरु कार्यालयको सेवा बन्द हुने छन् । घरबाटै काम गर्न मिले त्यसै गर्न भनिएको छ ।

चितवन स्वास्थ्य कार्यालयका अनुसार बिहिबारसम्म जिल्लामा निको हुन बाँकी सक्रिय संक्रमितको संख्या तीन हजार २९९ पुगेको छ । जिल्लामा कुल संक्रमितहरु १० हजार ६३८ पुगेका छन् । बिहीबार चितवनमा आठजना संक्रमितहरुको मृत्यु भएको छ । मृत्युहुने चितवनका संक्रमितहरु १५४ जना पुगेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?