कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीको दुधौली र तीनपाटनमा अक्सिजनसहितको आइसोलेसन

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकामा पहिलोपटक अक्सिजनसहितको आईसोलेसन बिहीबारबाट सञ्चालनमा आएका छन् । सदरमुकाम सिन्धुलीमाडी बाहिर दुधौली र तीनपाटनले आफ्नै प्रयासमा अक्सिजनसहितको आइसोलेसन बेड बनाएका हुन् ।

सिन्धुलीको दुधौली र तीनपाटनमा अक्सिजनसहितको आइसोलेसन

दोस्रो लहरको कोरोना संक्रमित बिरामी बढेसँगै दुधौली नगरपालिकाले वडा नम्बर ५ मा रहेको सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको १५ वटा आईसोलेसन बेड तयार गरेको हो । तीनपाटन गाउँपालिकाले वडा नम्बर १ मा रहेको बेल्घारी स्वास्थ्य केन्द्रमा र वडा नम्बर ११ को लाम्पन्टारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको पाँच/पाँच बेड आइसोलेसन तयार गरेको हो ।

९ वटा स्थानीय तहमध्ये ६ वटामा अझै अक्सिजनसहितको सुविधा भएको बेड छैनन् । कमलामाई नगरपालिका–६ शिवनगरमा अक्सिजन सहित ४७ बेडको कोभिड अस्पताल सञ्चालनमा रहेको छ ।

सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना महिला र एक पुरुष संक्रमितको अक्सिजन दिएर उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रमा एकजना एमबीबीएस डाक्टर, स्टाफ नर्स, अनमी कार्यरत रहेका छन् । तीनपाटनको बेल्घारी र लाम्पान्टार प्राथमिक स्वास्थ्य केन्द्रमा सात/सात थान अक्सिजनसहित आईसोलेसन बेड सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कर्ण थापामगरले जानकारी दिए ।

दुवै प्राथमिक स्वास्थ्य केन्द्रमा एक/एक जना एमबीबीएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली कार्यरत छन् । दुधौली नगरपालिकामा १३० जना र तीनपाटन गाउँपालिकामा ३६ जना संक्रमित छन् । सिन्धुलीमा ३७१ संक्रमित छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?