कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चितवनमा थप १० जना कोरोना संक्रमितको मृत्यु

रमेशकुमार पौडेल

चितवन — चितवनमा मंगलबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ९ जना भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका संक्रमितहरु हुन् । एक जना होम आइसोलेसनमा बसेका संक्रमितको पनि ज्यान गएको चितवन स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मृतकमध्ये ४ जना चितवनका हुन् । बाँकी ६ जना भरतपुरमा उपचारका लागि आएका संक्रमित हुन् ।

चितवनमा थप १० जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा पाँचजना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ३ जना चितवनका हुन् । रुपन्ेदही र नवलपरासीका एक/एक जना छन् । भरतपुरको सरकारी अस्पतालमा तनहुँ, रुपन्देही र कपिलवस्तुका एक एकजना गरी ३ जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा गोरखाका एक जनाको मृत्यु भएको हो ।

त्यसैगरी होम आइसोलेसनमा बसेका भरतपुरका एक जना संक्रमितको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार चितवन मेडिकल कलेजबाट २३, भरतपुर अस्पतालबाट १५ र पुरानो मेडिकल कलेजबाट ६ जना गरी २४ घण्टामा कुल ४४ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । मंगलबार दिउँसोसम्म चितवनका अस्पतालहरुमा ४३० जना संक्रमितको उपचार भइरहेको छ ।

स्थानीय तहका आइसोलेसनका १०५ शय्या र भरतपुरका विभिन्न अस्पतालहरुमा समेत गरेर जिल्लामा हाल संक्रमितको उपचारका लागि ७३० शय्या उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा २६२ आईसीयु बेड छन् । मंगलबार आईसीयुमा २४० जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म चितवनमा संक्रिय संक्रमितको संख्या २ हजार ९०९ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये चितवनका २ सय जना मात्रै अस्पतालहरुमा भर्ना भएका छन् । चितवनका अस्पतालहरुमा जिल्ला बाहिरका संक्रमितहरुको चाप अत्याधिक छ । चितवनमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या १४५ पुगेको छ । यो चितवनका मात्रैको संख्या हो । भरतपुरका अस्पतालमा उपचार गराउँदा मृत्यु भएका चितवन बाहिरका संक्रमितहरुको संख्या यसमा जोडिएको छैन ।

चितवनमा पछिल्लो समय संक्रमण र मृत्यु तीव्र हुँदै गएको छ । चितवनमा वैशाख २२ गते बुधबार १० जना संक्रमितको मृत्यु भएको थियो । शनिबार यो संख्या अहिलेसम्मकै सर्वाधिक १४ पुग्यो । सोमबार ७ जना र आइतबार ४ जना संक्रमितको मृत्यु भएको थियो । वैशाख १ गते चितवनमा संक्रिय कोरोना संक्रमित जम्मा ९६ थिए । संक्रमण बढेपछि चितवनमा वैशाख १६ गते मध्यरातदेखि वैशाख ३१ गते मध्यरातसम्म निषेधाज्ञा लागेको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?