२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

घर बनाएको एक वर्षमा पनि भूकम्पपीडितले अनुदान पाएनन्

टीकाप्रसाद भट्ट

रामेछाप — घर बनाएको एक वर्ष बितिसक्दा पनि रामेछापका भूकम्पपीडितले अनुदानको रकम पाउन सकेका छैनन् । जिल्लाबाट माग गरिएको रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रले निकासा नदिएकाले घर बनाइसकेकाहरू अनुदानबाट वञ्चित भएका हुन् ।

‘फागुनमै आएका फाइलको पैसा नभएर अनुदान बाँड्न सकेका छैनौं,’ प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख सन्तोषप्रसाद दाहालले भने ।

उनका अनुसार लाभग्राहीलाई अनुदान दिन प्राधिकरणसँग ६० करोड माग गरिएको छ । तर झन्डै ३ महिना हुनैलाग्दा पनि निकासा भएको छैन । ‘लाभग्राही दिनहुँ कार्यालय आएर अनुदानका लागि कराउन थालेका छन्,’ दाहालले भने, ‘पैसा नभएर उहाँहरूको खातामा पठाउन पाएका छैनौं ।’

इकाइ (भवन) बाट सबै प्रक्रिया पूरा गरी अनुदानका लागि पुगेका सेवाग्राहीका झन्डै २ हजार ५ सय फाइल रोकिएका हुन् । तीमध्ये दोस्रो किस्ताका लागि ८ सय ५० जना लाभग्राहीलाई १२ करोड ७५ लाख र १ हजार ५ सय ८७ लाभग्राहीलाई १५ करोड ८७ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन बाँकी रहेको प्राधिकरणकी सविता कार्कीले बताइन् ।

इकाइ (भवन) का फोकल इन्जिनियर किशोरविक्रम शाहीले प्राविधिकले निरीक्षण सकेको महिनौंसम्म अनुदान नआउँदा त्यसको असर फिल्डमा काम गर्ने प्राविधिकलाई समेत पर्न थालेको गुनासो गरे । ‘सबै मापदण्ड पूरा गरेर घर निर्माण गर्नेले प्राविधिकले निरीक्षण गरेको केही दिनमै अनुदान खोज्छन्,’ शाही भन्छन्, ‘फाइल जिल्लामा आइपुगे पनि अनुदान नआउँदा प्राविधिकले नै त्यसको अपजस खानुपरेको छ ।’

‘घर बनाएको एक वर्ष बित्यो, अनुदानका लागि पाँच पटक सदरमुकाम पुगें तर पैसा आएको छैन भन्दै फर्काउने काम भयो,’ बेथानका लालबहादुर लामाले भने, ‘कहिले पैसा पाइएला र घर बनाउँदाको ऋण तिर्नु ?’ भूकम्पपीडितले घर निर्माण सकेपछि प्राविधिक निरीक्षण, नापजाँच, वडाले प्रतिवेदन तयार गरी जिल्लामा फाइल पठाएर पास भएपछि मात्र अनुदान पाइन्छ । लामो प्रक्रिया पार गरेर फाइल स्विकृत भइसक्दा पनि पीडितहरूले अनुदान नपाएका हुन् ।

प्रकाशित : वैशाख २८, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?