३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यार्चाको खोजीमा

अघिल्ला वर्षहरुमा ३ हजार संकलक लेक पुग्थे । संक्रमणको जोखिमका कारण यो पटक ७ सयजति उक्लेका छन् ।
अनिश तिवारी

फुल्पिङकट्टी, सिन्धुपाल्चोक — कोरोना संक्रमणको त्रास छ तर जिल्लाको पूर्वी भेगका बासिन्दा यार्चा संकलनका लागि २–३ दिनको बाटो हिँडेर लेक पुगेका छन् । आर्थिक उपार्जनको मुख्य स्रोत भएकैले उनीहरू जोखिम मोलेरै झन्डै ३ महिना लेकाली क्षेत्रमा बिताउँछन् । यार्चा संकलन गर्न जानेमा चीनसँग जोडिएको भोटेकोसी गाउँपालिकाका तातोपानी, फुल्पिङकट्टी, मार्मिङ, लिस्तीकोट तथा जुगल गाउँपालिकाका झन्डै सात सयभन्दा बढी छन् ।

यार्चाको खोजीमा

खाद्यान्न, लत्ताकपडाजस्ता दैनिक उपभोग्य सामग्रीसहित उक्लिएका स्थानीय छाप्रो, गोठ, पाल, टेन्ट बनाएर यार्चा संकलनमा जुटेका छन् । कोदारी राजमार्गअर्न्तगतको दसकिलोबाट पुल तरेपछि नाम्थाङ, तार्तोङ, माइखर्कबाट बोक्चेन गाउँ छोडेलगत्तै छेदाङपछि यार्चा क्षेत्रको यात्रा सकिन्छ । यहाँस्थित कुलकुले, सिम्खर्क, माख्लो सिम्खर्क, छारा, तिनचाम्ले यार्चा टिप्न जानेहरूले कब्जा गरिसकेका छन् । यार्चा टिप्न पुगेकी भोटेकोसी गाउँपालिका मार्मिङकी सुमिना शेर्पाका अनुसार लेकमा यतिबेला कुनै पर्व वा मेलाजस्तै माहोल छ । ‘चारैतिर पाल र टेन्ट मात्रै देखिन्छन्,’ उनले भनिन् ।

जिल्लामा यार्चा संकलनमा जान विशेषगरी चार वटा पैदल मार्ग प्रयोग गरिन्छ । बाह्रबिसे नगरपालिकास्थित कर्थली बिगुको कच्ची बाटो हुँदै उक्लिन सकन्छि । अर्को घुम्थाङको दोलंसा, किर्दोजे, सानोभन्ज्याङ, मार्मिन, ज्याङदाङ, देउढुंगा, सेर्मेग्याङ, बांगेपानीबाट डेढ घन्टा हिँडेर कुलकुले पुगिन्छ । ‘यही बाटो भएर यार्चा टिप्न सामल बोकेर उकालो लाग्ने प्रायः भेटिन्छन्,’ यार्चा संकलनमै हिँडेका बाह्रबिसे घुम्थाङका दोर्जे तामाङले भने । हिमाली गाउँ फुल्पिङकट्टीको नारायणथानबाट ७ घण्टाको यात्रापछि यरमाला, देउढुंगा हुँदै दोलखा जोड्ने सीमामा पनि धेरै जना यार्चा टिप्न पुग्छन् । ‘नजिक भएकाले त्यता जानेको भीड बढेको हो,’ उनले भने ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाअन्तर्गत इलाका संरक्षण कार्यालय चाकुकी प्रशासन सहायक कल्पना मैनालीका अनुसार संक्रमण जोखिमका कारण योपटक यार्चा संकलकले राजस्व गाउँस्थित आयोजनाकै व्यवस्थापन समितिलाई बुझाइरहेका छन् । ‘कार्यालयमा त अहिलेसम्म ८ जनाले मात्रै राजस्व बुझाएर गएका छन्, कोभिडकै कारण यस्तो भयो, अरूको तथ्यांक र संकलन साबिककै वडापिच्छे भएका समितिले राख्नेछन्,’ उनले भने । जुगल गाउँपालिकामा भने आयोजनाको व्यवस्थापन समिति नभएकाले जनप्रतिनिधिसँग समन्वय भइरहेको उनले बताइन् ।

अघिल्ला वर्षहरूमा गाउँले, काठमाडौंसहित बाहिरी जिल्लाका गरी झन्डै तीन हजारभन्दा बढी लेक पुग्थे । यार्चा सिजन सुरु भएपछि गाउँ नै रित्तिन्थ्यो । एक सिजनमा झन्डै चार लाख रुपैयाँ जति राजस्व उठ्थ्यो । ‘अहिले त जाने मान्छे त्यस्तै ७ सयको हाराहारी भएको सूचना पाएका छौं, त्यहीअनुरूप व्यवस्थापन भइरहेको छ,’ उनले भनिन् ।

प्रकाशित : वैशाख २५, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?