निषेधाज्ञामा पनि निरन्तर मजदुरी- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञामा पनि निरन्तर मजदुरी

लिला श्रेष्ठ

भक्तपुर — कोरोना महामारी लागेको हुन्थेन भने सिन्धुली, कमलामाई नगरपालिका–२ का २६ वर्षीय नरेन्द्र थापा अहिले होटलमा काम गरिरहेका हुन्थे । नरेन्द्रको रुचि पनि पाहुनाको सत्कार र मिठा परिकार नै थियो तर त्यो अवस्था रहेन । धुलिखेलको नाम चलेकै होटलमा ५ वर्ष काम गरेका उनलाई गत वर्ष लकडाउनले बेरोजगार बनाइदियो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटमा घर निर्माणका लागि माटो बोक्दै मजदुर । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

लकडाउन, निषेधाज्ञाको बहानामा होटलबाट निकालिएका नरेन्द्र दुई महिनायता ढुंगा–माटोमा रमाउन थालेका छन् । ‘काम त गर्नैपर्‍यो, भोकै बस्नु भएन,’ उनले भने, ‘अहिले घर बनाउने ठाउँमा ज्याला, मजदुरी थालेको छु ।’ नरेन्द्रको दिनचर्या फेरिएको छ । उनी बिहानैदेखि सूर्यविनायक नगरपालिका–४ दधिकोटमा घर बनाउन माटो, बालुवा, सिमेन्ट बोक्छन् । ढलानका लागि मसला घोल्छन् । ‘बिहान ६ देखि १२ घण्टा मजदुरी गर्दा १ हजार रुपैयाँ ज्याला पाउँछु,’ उनले भने, ‘होटल र यहाँको काम मात्र भिन्न हो, कमाइ त उस्तै हुन्छ ।’

कोरोना संक्रमणको दोस्रो लहर रोकथामका लागि भन्दै सरकारले राजधानीका तीन जिल्लासहित जोखिम क्षेत्रमा निषेधाज्ञा लगाएको छ । तर नरेन्द्रजस्ता मजदुरलाई भने निषेधाज्ञाले रोकेको छैन । उनी मास्क लगाएर दिनभर काम गर्छन् ।

सिन्धुली आमबोटेकी सरिता मगरको तीन जनाको परिवार सूर्यविनायक–४ हर्षचोकमा डेरामा बस्छ । उनका पति क्यान्सरले बिते । छोरा–छोरीको लालनपालन र शिक्षादीक्षाको जिम्मा सरिताको काँधमा छ । उनी छोराछोरीलाई घरमै छोडेर घर निर्माणमै मजदुरी गर्न निस्कन्छिन् । ‘सीमित संख्यामा सुरक्षित किसिमले काम गरिरहेका छौं,’ उनले भनिन्, ‘मास्क लगाउने, दूरी कायम गर्ने र बरोबर हात धोइरहँदा कोरोना सर्दैन । त्यसैले निषेधाज्ञामा पनि काम रोकिएको छैन ।’ दिनहुँ काम गर्न नपाए हातमुख जोड्न समस्या हुने उनी बताउँछिन् । ‘बालबच्चालाई भोकै राख्नु भएन, कोठाभाडा पनि तिर्नैपर्‍यो,’ उनले भनिन् ।

काभ्रेपलाञ्चोक रोशी गाउँपालिका सिपालीकी अनिता र रामदेव उप्रेती दम्पतीलाई पनि निषेधाज्ञाले खासै प्रभाव पारेको छैन । उनीहरू दुवैजना घर निर्माणमा मजदुरी गरिरहेका छन् । ‘हामी मास्कधारी मजदुर, हामीलाई कोरोना लाग्दैन,’ अनिताले ठट्टा गर्दै भनिन्, ‘यसैगरी डेढ वर्ष बित्न लाग्यो, हाम्रो काम रोकिएको छैन ।’ राजधानीकै ग्रामीण भेगमा काम गर्ने मजदुरलाई निषेधाज्ञाले खासै प्रभाव नपरेको उनीहरू बताउँछन् । ‘बच्चाहरूको पढाइ मात्र प्रभावित भएको छ,’ उनले भनिन्, ‘हामीलाई काममा कुनै असर गरेको छैन, सुरुसुरुमा आफैं डराएर काममा गएनौं ।’ उप्रेती दम्पतीका २ छोरी र १ छोरा छन् । छोरा वैदेशिक रोजगारका लागि दुबई पुगेको र छोरीहरू पढ्दै छन् । दुवै मलेर उनीहरू मासिक ३० देखि ४० हजार रुपैयाँ कमाउँछन् ।

उनीहरूसँगै भेटिएका देवेन्द्र थापा ठेकेदार हुन् । उनको मातहत ३० देखि ३५ मजदुर काम गर्छन् । वर्षमा ५ वटा घर निर्माणको ठेक्का लिने गरेको बताउने देवेन्द्रले यो क्षेत्रमा काम थालेको ३० वर्ष बित्यो । ‘यस्तो स्वास्थ्य संकटको अवस्था कहिल्यै सामाना गर्नुपरेको थिएन,’ उनले भने, ‘अहिले पनि संक्रमण त्रासकै बीच काम गरिरहेका छौं ।’ सामान्य स्वास्थ्य सुरक्षा अपनाउँदै जिम्मा लिएको कामलाई निरन्तरता दिइरहेको उनले बताए । ‘हालसम्म कुनै मजदुरलाई पनि संक्रमण देखिएको छैन, भौतिक दूरीमा काम गर्ने गरिएको छ,’ उनले दाबी गरे । निषेधाज्ञाले कामदारलाई खासै प्रभाव नपरे पनि निर्माण सामग्री खरिद तथा ढुवानीमा समस्या परेको उनले गुनासो गरे ।

प्रकाशित : वैशाख २५, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

हनुमन्ते खोलामा नग्‍न अवस्थामा भेटिएकी महिलालाई बलात्कार गरिएको आंशका

लिला श्रेष्ठ

काठमाडौँ — शनिबार बिहान नग्‍न अवस्थामा एक महिलालाई भक्तपुर ठिमीस्थित हनुमन्ते खोलाको डिलमा भेटियो । उनको शरीरमा घडीमात्र थियो । र, उनी बरबराउँदै बालुवा कोर्तदै थिइन् ।

वरिपरि भिड जम्मा भएपछि उनी बल गरेर उठ्न खोज्थिन्, तर फेरि थुचुक्कै हुन्थिन् । उनको ओठ मात्र चलेको देखिन्थ्यो ।

खुट्टा दरखरिएर अलिअलि रगत पनि बगेको थियो । अर्धचेत अवस्थामै स्थानीयले उनलाई सुरुवाल र ज्याकेट लगाइदिए । एकैछिनपछि महानगरिय प्रहरी वृत्त ठिमीबाट प्रहरी निरीक्षकको टोली आइपुग्यो । महिला प्रहरीहरुले उनलाई टेको दिएर गाडिसम्म पुर्‍याए । र, सोझै भक्तपुर अस्पताल लगियो ।

शनिबार साँझ कान्तिपुर भक्तपुर अस्पताल पुग्दा ती महिला अर्धचेत अवस्थामै बेडमा पल्टिरहेकि थिइन् । दिनभरि उनको मुखमा पानी समेत परेको रहेनछ । भक्तपुर अस्पतालमा कार्यरत नर्स सुजिता वाटीका अनुसार उनलाई सलाइन पानी दिएर शरीरको समान्य चेकजाँच गरिएको थियो । केटा मानिस देख्‍ने बित्तिकै झस्कने हुनाले ती महिलामाथि बलात्कार भएको आशंका नर्स वाटीको छ । साथै उनले थपिन् वेडमा ढल्कँदा पनि ती महिलाको हात कम्मरमै हुन्थ्यो ।

सामूहिक बलात्कारको आशंका गरिए पनि प्रहरीले मुचुल्का नउठाएको, ती महिलाको आफन्त उपस्थित भएर चेकजाँचका लागि मन्जुरी नदिएको लगायतका कानुनी अल्झनका कारण उनको शरीरको भित्री पाटोको जाँच हुन नसकेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटे‌न्डेन्ड डा. सुमित्रा गौतमले जानकारी दिइन् । डा. गौतमका अनुसार ७२ घण्टाभित्र पाठेघरको चेकजाँच नगर्दा बलात्कारै हो वा होइन भन्ने इकिन हुँदैन ।

आइतबार बिहान भक्तपुर अस्पताल पुग्दा ती महिला बेडमा सुतिरहेकी थिइन् । उनको अनुहार हेर्दा अलि तंग्रिएको देखिन्थ्यो । ति महिलाले आफ्नो नाम र ठेगानी नर्स वाटीलाई बताएकी रहिछिन् । कुराकानी क्रममा उनले आफ्नो ५ वर्षीया छोरी रहेको बताएकी थिइन् । श्रीमान् पनि साथैमै थिए रे, अहिले कता छन् पत्तो छैन । उनी कसरी नग्‍न अवस्थामा हनुमन्ते खोला पुगिन् भन्ने विषय खुल्न सकेको छैन । उनीसँगै श्रीमान् थिए भनिएपछि हालसम्म उनको अवस्थाबारे बुझ्न आएका छैनन् ।

उनी तंग्रिन थालेपछि आइतबार दिउँसो भक्तपुर अस्पतालले उनलाई डिस्चार्ज गर्यो । उनलाई भेटिएको ठाउँलाई पनि सिल गरिएको छैन, त्यहाँ वरिपरि भेटिएका लुगा अझै त्यसै छन् । घटनाको थप अनुसन्धान प्रहरीले गर्न सकेको छैन ।

प्रकाशित : मंसिर ७, २०७७ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×