कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

सुवास विडारी

मकवानपुर — कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा जोखिम मोलेर खटिएका मकवानपुरका ६ वटा स्थानीय तहका स्वास्थ्यकर्मीले अझैसम्म जोखिम भत्ता पाएका छैनन् ।

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

एक वर्षअघि संघीय सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । जिल्लाका १० मध्ये ६ स्थानीय तहले कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिइसक्दा पनि सरकारको निर्णय कार्यान्वयन गरेका छैनन् ।

अघिल्लो चैतदेखि हालसम्म आफूहरू निरन्तर आइसोलेसन, क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ र उपचारका लागि खटिए पनि जोखिम भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो छ । हाल १० वटै पालिकामा गरेर ५४१ जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये ३३७ जनाले अझै पनि जोखिम भत्ता पाएका छैनन् । भत्ता नपाउनेमा हेटौंडा उपमहानगरका १२१, मनहरीका ५६, कैलाशका ४६, मकवानपुरगढीका ४५, भीमफेदीका ३५, इन्द्रसरोवर गाउँपालिकाका ३४ जना छन् ।

हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले सबै स्वास्थ्यकर्मी कोरोना नियन्त्रणका लागि कुनै न कुनै क्षेत्रमा क्रियाशील रहे पनि सरकारले तोकेको मापदण्डअनुसार भत्ता नपाएको बताए । मकवानपुरगढीले गत आव अर्थात् अघिल्लो चैतदेखि असारसम्म ८० दिनको ५० प्रतिशतका दरले मात्रै भत्ता उपलब्ध गराएको थियो । तर गत साउनयता भत्ता उपलब्ध गराउनेबारे गाउँ कार्यपालिका बैठकमा छलफलसमेत भएको छैन । भीमफेदी र कैलाशले गत आवमा सबै स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराए पनि चालु आवमा भने दिएका छैनन् ।

इन्द्रसरोवरले त हालसम्म स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नै दिएको छैन । ‘भत्ता उपलब्ध गराउनेबारे गाउँ कार्यपालिका बैठकमा धेरै पटक माग गरे पनि सुनुवाइ भएको छैन । हामी अहिले पनि जोखिम मोलेर काम गरिरहेका छौं,’ स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले भने । मनहरीले गत आवको ४ महिनाको भत्ता दिइसकेको दाबी गरेको छ । साउनयताको सबै रकम आगामी असारभित्र उपलब्ध गराउने योजना रहेको स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारीले जानकारी दिए ।

जिल्लाका चार स्थानीय तहले भने स्वास्थ्यकर्मीलाई सरकारले तोकअनुसार भत्ता उपलब्ध गराएका छन् । यसरी भत्ता पाउनेमा २०४ जना स्वास्थ्यकर्मी छन् । भत्ता दिने स्थानीय तहमा थाहा नगरपालिका, बकैया, राक्सिराङ र वाग्मती गाउँपालिका हुन् । थाहाका ६३, बकैयाका ६५, वाग्मतीका ३५ र राक्सिराङ ४१ स्वास्थ्यकर्मीले पूर्ण अवधिको भत्ता बुझेका हुन् ।

प्रकाशित : वैशाख २४, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?