मकवानपुरका निजी अस्पताललाई कोभिड अस्पताल बनाइँदै

मकवानपुर — कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुरका निजी अस्पताललाई पनि कोभिड अस्पतालका रूपमा प्रयोग गरिने भएको छ । यी अस्पताल आईसीयू सेवासहितको हुनेछन् ।

मकवानपुरका निजी अस्पताललाई कोभिड अस्पताल बनाइँदै

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बुधबार मात्रै हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा आईसीयू सेवासहितको २५ बेडको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । ‘सक्रिय संक्रमित बढिरहेका छन् ।

आईसीयूको अभाव नहोस् भनेर निजी अस्पताललाई पनि प्रयोग गर्न थालेका हौं,’ प्रजिअ भरतमणि पाण्डेले निजी अस्पताल एसोसिएसनसँग यस विषयमा समझदारी भइसकेको बताए । हाल हेटौंडा अस्पतालमा ७० बेडको आईसीयू कक्ष सञ्चालनमा छ ।

यही साता सञ्चालनमा ल्याइएको ३० बेडको आईसीयू संक्रमितले दुई दिनमै भरिएपछि अस्पतालमा आईसीयूका ४० बेड थपिएको हो । ‘निजी अस्पतालको सहयोगमा कभर्ड हलमा पनि अक्सिजनसहितको बेडको व्यवस्था गर्दै छौं । यो महामारीको समयमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने हाम्रो योजना रहेको छ,’ पाण्डेले भने ।

हेटौंडामा कोरोनाको दोस्रो लहर सुरु भएयता ६ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ७ सय नाघिसकेको छ । स्वास्थ्यकर्मीको अभाव हुन नदिन हेटौंडा उपमहानगरले तत्काल स्वास्थ्यकर्मी नियुक्त गरी काजमा खटाउने भएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?