कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आइसोलेसन कतै खाली, कतै सुरसारै छैन

कोरोनाको सामान्य लक्षणयुक्त संक्रमित घरमै बस्ने र गम्भीर बिरामी अस्पताल जाने गरेकाले बनेका थुप्रै आइसोलेसन खाली छन्

काभ्रे, धादिङ — कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेसँगै प्रदेशका विभिन्न जिल्लामा आइसोलेसन बनेर पनि सञ्चालनमा आइसकेका छन् भने कतिपय स्थानीय तहले सुरसारै गरेका छैनन् ।

आइसोलेसन कतै खाली, कतै सुरसारै छैन

केही स्थानमा आइसोलेसन बने पनि खाली छन् । कोरोनाको सामान्य लक्षण भएका संक्रमित घरमै बस्ने र गम्भीर बिरामी अस्पतालै जाने गरेकाले आइसोलेसन निर्माणमा उदासीनता र बनेकामा पनि संक्रमित नगएका हुन् ।

काभ्रेका अधिकांश स्थानीय तहले बनाएका आइसोलेसन प्रयोगविहीन छन् । बनेपामा ५ र मण्डनदेउपुर नगरपालिकामा २ जना आइसोलेसनमा रहे पनि बाँकी खाली छन् । १३ मध्ये आधाजसो स्थानीय तहले गतवर्ष बनाएका कोरोना अस्थायी अस्पताललाई नै आइसोलेसनका रूपमा सञ्चालन गर्न अन्तिम तयारी गरिरहेका छन् । पनौती–४ स्थित वडा कार्यालय भवनमा तयार गरिएको आइसोलेसनमा संक्रमित नआएको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । पाँचखाल नगरपालिकाले तयारी अवस्थामा राखेको १५ बेडको आइसोलेसन कक्षमा पनि संक्रमित छैनन् ।

तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले अक्सिजनजडित ५ बेडको आइसोलेसन तयार गरे पनि हालसम्म कोही संक्रमित नबसेको बताए । ‘संक्रमण देखिएका केही सहरतिरै बस्नुभएको छ, कोही संक्रमित आइहाले तत्काल सेवा दिन सक्छौं,’ उनले भने । जिल्लाको महाभारत, खानीखोला, बेथानचोक, भुम्लु र चौरीदेउराली गाउँपालिकाले भने गतवर्ष सञ्चालनमा ल्याएकै अस्थायी अस्पतालमा संक्रमित राख्ने तयारी गरिरहेका छन् । गतवर्ष ११ स्थानीय तहले १०/१० लाख रुपैयाँ खर्चेर अस्थायी अस्पताल सञ्चालनमा ल्याएका थिए ।

खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले संक्रमणको त्यति जोखिम नभए पनि जनशक्ति, एम्बुलेन्सलगायत तयारी अवस्थामा राखिएको बताए । धुलिखेल नगरपालिकाले यो वर्ष पनि ५० बेडको आइसोलेसन सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । आइसोलेसनमा २० वटा अक्सिजनजडित बेड रहने स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले बताए ।

बुधबार मात्रै काभ्रेमा एक सय ५८ जना संक्रमित थपिएका छन् । ७ सय ६८ जना सक्रिय संक्रमित पुगेकोमा ७ सय ३६ जना घरमै र २५ जना अस्पतालमा छन् । डीसीएमसी संयोजकसमेत रहेका प्रजिअ शिवराम पोखरेलले मध्यमखाले समस्या भएका संक्रमितलाई चिकित्सकको निगरानीमा स्थानीय तहकै आइसोलेसनमा राखिने बताए । ‘अब जिल्लाका सीमित अस्पतालले मात्रै थेग्न सक्दैनन्,’ उनले भने ।

अध्ययन गर्न चिकित्सक जागिर छाडेर गएपछि धादिङको गंगाजमुना गाउँपालिकाको स्थानीय अस्पतालमा दुई महिनादेखि दरबन्दी खाली छ । १८ शय्याको आइसोलेसनका लागि भवन निर्माण भइसक्यो तर उपकरण र स्वास्थ्यकर्मी छैनन्,’ पालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले भने, ‘चिकित्सक अब छिट्टै भर्ना गर्छौं ।’

सल्यानटार अस्पताल

यसअघि यहाँ उपलब्ध पीसीआर परीक्षण सेवासमेत ठप्प पारिएको छ । सल्यानटार अस्पतालमा पनि हालसम्म आइसोलेसन कक्ष छैन । ‘पुराना भवन भत्काउने क्रममा रहेकोले यसपटक आइसोलेसन बनाउन सकिएको छैन,’ त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले भने । अस्पतालमा ३ चिकित्सक र ५ नर्ससहित २७ जना स्वास्थ्यकर्मी छन् । ‘निमोनिया र दमका शंकास्पद बिरामी दैनिक १० जनासम्म आउँछन्, आइसोलेसन नभएपछि जिल्ला अस्पताल रेफर गर्ने गरेका छौं,’ अस्पतालका डा. सञ्जय बरालले भने, ‘यहाँ राखे उचित उपचार हुन नसक्ने भएपछि बिरामीहरू आफैं पनि राजधानी वा सदरमुकामतिर लाग्छन् ।’

नेत्रावती गाउँपालिकाको १० बेडको आइसोलेसनमा कोही संक्रमित छैनन् । गाउँपालिकामा मंगलबारसम्म भेटिएका १ सय २६ सक्रिय संक्रमित आ–आफ्नै घरमा छन् । धादिङमा १३ वटा स्थानीय तह रहेकोमा अधिकांशले आइसोलेसन निर्माणमा चासो दिएका छैनन् ।

जिल्लाभर हालसम्म आइसोलेसनका ९५ वटा मात्रै बेड बनाइएका छन् । पछिल्लो एक सातामा ४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ३१ जना घरमा, २१ जना जिल्ला अस्पतालमा र बाँकी काठमाडौंका विभिन्न अस्पतालमा छन् । जिल्ला अस्पतालका ३६ स्वास्थ्यकर्मी पनि संक्रमित बनिसकेका छन् ।

संक्रमित स्वास्थ्यकर्मीले विरामीको उपचार गर्नु परिरहेको स्वास्थ्य कार्यालय प्रमुख डा. भुवन पौडेलले बताए । ‘यस्तोमा पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा सबै सरोकारवालाले सोच्नुपर्ने बेला आएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख २३, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?