काभ्रेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु- वाग्मती - कान्तिपुर समाचार

काभ्रेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या जिल्लामा दैनिक बढ्दै गएको छ । मंगलबार एकैदिन जिल्लामा ६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

मंगलबार बनेपाका २, मण्डनदेउपुरका १, पनौतीका १ र भक्तपुरका २ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

बनेपा घर भएकी ६२ वर्षीया महिलाका बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मण्डनदेउपुरका ८७ वर्षीय पुरुषको पनि सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो । बनेपाका ४० वर्षीय व्यवसायी अक्समात ढलेपछि अस्पताल लगिएकोमा उपचारको क्रममा सोमबार निधन भएको थियो । मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको लागि धुलिखेल अस्पतालमा रहेका भक्तपुरका ६२ वर्षीया महिला र भक्तपुरकै ६७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छो ।

कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्

पर्सामा दुई जना कोरोना संक्रमितको मृत्यु

शंकर आचार्य

पर्सा — कोरोना संक्रमणबाट पर्सामा २४ घण्टायता दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार नेशनल मेडिकल कलेजमा र नारायणी अस्पतालमा गरी २ जनाको मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजमा सोमबार राति साढे ७ बजे पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । नारायणी अस्पतालमा मंगलबार बिहान साढे ११ बजे वीरगन्ज महागनर–१६ का २६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसअघि तुलनात्मक रुपमा कम बिरामी भर्ना हुने गरेको नारायणी अस्पताल मंगलबार भने कोरोना संक्रमित बिरामीले भरिएको छ । अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासका अनुसार मंगलबार अस्पतालमा ९३ कोरोना संक्रमित भर्ना भएका छन् । तीमध्ये ८ आईसियुमा र ८५ एचडियु युनिटमा भर्ना छन् । सबैलाई अक्सिजन दिएर राखिएको उनले बताए ।

नारायणी अस्पतालको प्रयोगशालाको सोमबारको नतिजाको अनुसार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएको छ । वीरगन्जस्थित नेपाल भारत सीमामा रहेको हेल्थ डेस्कमा मंगलबार पनि ५ कोरोना संक्रमित भेटिएका छन् । डेस्कमा मंगलबार भारतबाट आएका ३८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मध्ये ३ नेपाली र २ भारतीय नागरिक हुन् ।

प्रकाशित : वैशाख २१, २०७८ १५:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×